Logo

संघीय संसद देखि प्रदेश संसदसम्म फोहोरी खेल (कहाँ के के भए)



काठमाडौं, २० वैशाख । राजनीति सम्भावनाको खेल हो । जहाँ असम्भव भन्ने हुन्न । नेपाली राजनीतिमा यस्ता धेरै असम्भव लाग्ने खेलहरु पछिल्लो समय भएका छन् । विशेषगरी संघीय संसद देखि प्रदेश संसदसम्म राजनीतिका फोहोरी खेलहरु भएका छन् ।

सत्ता संकट आएपछि प्रतिनिधि सभा नै बिघटन गर्ने कदमहरु भए । संविधानले प्रतिनिधि सभा विघटनको विकल्पलाई अति न्यून बनाएको अवस्थामा पनि भारी बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नै विघटन गरे । तर, सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहराउँदै पुर्नजिवित गरिदियो । त्यसपछि संघीय संसदमा फोहोरी खेलहरु देखापर्न थाले ।

स्वयं प्रधानमन्त्री ओलीले संसदमा किनबेच र नकारात्मक खेलहरु हुने सम्भावना भएकाले विघटनको निर्णय लिएको बताएका थिए । पछि त्यस्तै घटनाहरु विकास भए । संघीय संसदको फोहोरी खेलको असर प्रदेश संसदसम्म पर्न थाल्यो ।

नेकपाको कानुनी विभाजन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतियो । तर, सरकार ढाल्न सक्रिय माओवादी केन्द्र नै ओली सरकारलाई दिइआएको समर्थन फिर्ता नलिई बस्यो । सरकार ढाल्न खोज्ने दल नै सरकारलाई समर्थन गरिरहने घटना नेपालको इतिहासमा दर्ज भयो ।

दल बदलका घटनाहरु देखापरे । माओवादी केन्द्रका प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ४ र राष्ट्रियसभाका २ सांसदहरुले एमाले रोजे । उनीहरु मन्त्री बन्न सफल भए । दल परित्याग सम्बन्धी व्यवस्था अनुसार उनीहरुमाथि कारबाही भयो । ४ जना प्रतिनिधि सभाका सांसद र २ जना राष्ट्रिय सभाका सांसदको पद नै खारेज भयो । प्रदेश सभाका योभन्दा बढी संख्याका सांसदहरुको पद पनि खारेज भयो ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेबाट फ्लोर क्रस भयो । एमालेका ४ प्रदेश सभा सांसदहरुले फ्लोर क्रस गरे । ३ जना मन्त्री बनाइए । उनीहरुको सांसद पद नै खारेज भयो । एमालेको केन्द्रबाट माधव नेपालको निर्देशनमा फ्लोर क्रसको कदम चालिएको थियो । जसलाई फ्लोर क्रस गर्ने प्रकाश ज्वालाले उजागर गरेका थिए ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले संसद अधिवेशन नै अन्त गर्ने सिफारिश गरे । विशेष अधिवेशन डाकेर अविश्वासको प्रस्ताव दर्ता भयो । तर, गण्डकीमा सांसद किनबेच र अपहरणको आरोप प्रत्यारोप चल्यो । अविश्वासको प्रस्तावमा मतदान हुने दिन जनमोर्चाका खिमविक्रम शाही वेपत्ता भए ।

खोज्दै जाँदा शाही चरक अस्पतालको कोभिड आइशोलेशन आइसियू वार्डमा फेला परे । उनलाई भेट्न दिइएन । उनको दुईवटा कोभिड १९ सम्बन्धी परीक्षणको रिपोर्ट सार्वजनिक भयो । एउटामा पोजेटिभ र अर्कोमा नेगेटिभ थियो । विवादास्पद रिपोर्टहरु बाहिर आएपछि संसदमा फोहोरी खेलहरु खुले । देशमा सर्वसाधारण कोभिड भई अस्पतालको बेड नपाइरहँदा प्रदेश सांसद शाहीको कोभिड आइसियू वार्डको बसाईं विवादास्पद बन्यो । यसलाई नेपालको संसदीय इतिहासकै अनैतिक कार्यको संज्ञा दिइयो ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संसदीय राजनीतिमा यस्तै खेलहरु हुने टिप्पणी गरे । बाबुराम भट्टराईले सांसद किनबेच, अपहरण देखि नकारात्मक खेलहरु हुनथालेको भन्दै ओलीको चर्को आलोचना गरेका छन् ।

गण्डकीमा स्वतन्त्र सांसद दिपक मनाङे खेलकुदमन्त्री बनाइए । ग्याङस्टरबाट सांसद हुँदै मन्त्री बनेका मनाङेबारे विभिन्न टिकाटिप्पणी भयो । यसलाई संसदीय राजनीतिको अंकगणितको खेलको परिणाम मानियो ।

लुम्बिनी प्रदेशमा विहान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका ४ सांसद साँझ मन्त्रीको सपथ लिन पुगे । उनीहरुले पार्टी निर्णय उल्लंघन गरेका थिए । महन्थ ठाकुर पक्षधर ४ सांसद मन्त्री बन्न पुगेका थिए । उनीहरुमाथि जसपाले सांसद पदबाट मुक्त गर्ने निर्णय गर्यो । तर, महन्थ ठाकुर पक्षधरले त्यसको विरोध गर्यो ।

लुम्बिनीमा जसपाका ४ सांसद पदमुक्त भएपछि नेकपा एमाले एकल बहुमतको अवस्थामा पुग्यो । उनीविरुद्ध अविश्वासको प्रस्ताव १९ वैशाखमा आव्हान गरिएको विशेष अधिवेशनको दिन दर्ता हुने तय भयो । तर, विहानै पोखरेलले पदबाट राजीनामा दिए । उनी एकल बहुमतको मुख्यमन्त्री नियुक्त भए । नियुक्त नहुँदै पोखरेल अल्पमतमा परिसकेका थिए । एमालेकी बिमला खत्री वलीले माओवादी केन्द्रमा प्रवेश गरिन् । यसलाई सांसद किनबेचसँग जोडियो । वलीले आफ्नै खुशीले माओवादी रोजेको जवाफ दिइन् । उपनिर्वाचनमा निर्वाचित भएकाले उनलाई एमाले या माओवादी केन्द्रमध्ये रोज्ने अधिकार नै थियो ।

एकल बहुमतको मुख्यमन्त्री बनाइएका पोखरेललाई सपथ नदिन भन्दै ४२ सांसद प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको कार्यकक्षमा पुगे । उनीहरुले प्रमुखको कार्यालय नै घेराउ गरे । तर, सुरक्षा बल प्रयोग गरी सपथ दिइयो । त्यस क्रममा सांसदहरुमाथि प्रहरीले बल प्रयोग गरेको विषय आयो । लुम्बिनी प्रदेशमा ठूलै टकराव हुने अवस्था बन्यो । माओवादी केन्द्रका कुलप्रसाद केसीले आफैलाई मुख्यमन्त्री घोषणा गरे ।

नेपालको राजनीतिमा २०५१ सालपछि कसैको बहुमत नहुँदा संसदीय राजनीतिको खेलमा सांसद किनबेच, अपहरण देखि नकारात्मक घटनाहरु घटे । जम्बो मन्त्रिमण्डल बनाउने प्रवृत्ति पनि विकास भयो । यसलाई नै माथ गर्ने घटनाको विकास हुँदै गएको छ । यसले राजनीतिक प्रणालीलाई नै बदनाम बनाउने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्