Logo

पाँचतारे होटलको विहेभोजमा सहभागी ठूलो संख्यालाई कोरोना संक्रमण



काठमाडौं, बैशाख २० । निषेधाज्ञामा पनि सेवा दिँदै आएको काठमाडौंस्थित पाँचतारे होटल हायातका १८ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। विहेभोजको लागि भारतबाट आएका कालिगढबाट कर्मचारीमा कारोना सरेको होटल स्रोतले जनाएको छ। एक सय ४० भन्दा बढी कर्मचारीमा गरिएको परीक्षणमा १८ जनालाई कोरोना पुष्टि भएको हो। कतिपय कर्मचारीको कोरोना रिपोर्ट आउन बाँकी छ।

केही दिनअघिको वैवाहिक कार्यक्रमको लागि खाना बनाउन र फूल सजाउन आएका भारतीय कालिगढबाट कोरोना सरेको हुन सक्ने सम्बद्ध स्रोतले जनाएको छ। धेरै कर्मचारीमा एकसाथ कोरोनाको जस्तै लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो।

सरकारले अनुमति लिएर सीमित व्यक्तिको उपस्थितिमा मात्रै भोज लगायत कार्यक्रम गर्ने अनुमति दिए पनि उक्त वैवाहिक समारोहमा दर्जनौं पाहुनाको उपस्थिति रहेको स्रोतले बतायो। आइतबारसम्म होटलले वैवाहिक समारोहका बुकिङ जारी नै राखेको छ। स्रोतको अनुसार सोमबारका लागि समेत करिब सयजना सहभागी हुने गरी विहेभोजको तयारी छ।

काठमाडौंमा प्रशासनले कडिकडाउ गरिरहे पनि समारोहमा भने भीड कायमै रहेको सोही समारोहमा खटिएका एकजना कर्मचारीले बताए। ती कर्मचारीमा भने संक्रमण देखिएको छैन। उक्त पार्टीमा स्वास्थ्य मापदण्ड अनुसारको भौतिक दुरी कायम नगर्दा एकसाथ कर्मचारीमा कोरोना देखिएको हो। समारोहमा सहभागी पाहुनालाई पनि ठूलो संख्यामा संक्रमण सरेको हुन सक्ने स्रोतको अनुमान छ।

निषेधाज्ञा अवधिमा विवाह, व्रतबन्धमा १५ जनाभन्दा बढी भेला हुन नपाउने नियम छ। तर हायात परिसरमा निरन्तर वैवाहिक कार्यक्रम हुँदै आएको स्रोतको दाबी छ। ‘ठूलो समारोहमा पार्टीस्थल सजाउन भारतबाट कालिगढ र फूलका गाडी ल्याउने परम्परा पहिलेकै हो,’ स्रोतले भन्यो, ‘तिनै भारतीय कालिगढबाट संक्रमण सरेको अनुमान छ।’ होटलले आएका पाहुनाको कोरोना परीक्षण रिपोर्टमा कडिकडाउ नगर्दा कामदारबाटै संक्रमण फैलन थालेको उनको भनाइ छ।

हाल होटलका धेरै जसो कर्मचारी बिदामा बसेका छन् भने सुरक्षाको कर्मचारीसमेत बाहिरी स्रोतबाट परिचालित गरिएको स्रोतको दाबी छ। स्रोतका अनुसार हाल होटलले ४५ वर्ष माथिका ५५ कर्मचारीलाई काममा बोलाउन छोडेको छ। लामो समयदेखि काममा नबोलाइएकालाई अवकाश दिन होटल व्यवस्थापनले स्वेच्छिक अवकाश प्याकेज ल्याएको छ। ५५ जनामध्ये १० जनाले काम छोडेर गइसकेका छन्। काममा नबोलाइएकाले मासिक चारदेखि पाँच हजारसम्म तबल बुझ्दै आएका छन्।

‘दुई–तीन लाख रूपैयाँ दिएर लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई छुुटाउन खोजिएको छ। तर अहिले काममा खटिएका कर्मचारीसमेत सुरक्षित छैनन्,’ स्रोतले भन्यो। होटल व्यवस्थापनले भने स्वास्थ्य मापदण्ड अक्षरशः पालना गरेको र भीडभाड नगरेको जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्