Logo

तीन पालिकामा ‘स्मार्टएप’ सञ्चालनमा ल्याइँदै



डोटी, २० वैशाख : जिल्लाका तीनवटा पालिकामा ‘स्मार्ट पालिका एप’ सञ्चालन गरिएको छ । जिल्लाका जोरायल, केआइसिंह गाउँपालिका र शिखर नगरपालिकामा स्मार्ट पालिका एप्लिकेशन तयार गरी सञ्चालनमा ल्याउन थालिएको हो । युरोपियन युनियन र डिसिएको आर्थिक सहयोगमा सम विकास केन्द्र डोटीमार्फत सञ्चालित परिर्वतन परियोजनाले निर्माण गरेको ‘स्मार्ट पालिका एप’ ती पालिकामा हस्तान्तरण गरिएको हो । पालिकामा सुशासन कायम गर्नका लागि पालिकासँगको समन्वयमा गाउँपालिका तथा नगरपालिकाले गरेका कामको विद्युतीय प्रविधिमार्फत नागरिकलाई सूचना प्रवाह गर्ने र नागरिकका समस्या पनि सोही प्रविधिमार्फत स्थानीय सरकारसमक्ष पु¥याउने उद्देश्यका साथ एप निर्माण गरिएको परिवर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले जानकारी दिए ।

घरमै बसेर पालिकामा भइरहेका काम कारवाही तथा प्रगतिबारे नागरिकले सहज ढङ्गबाट एप्लिकेशनमार्फत सूचना पाउने भएका कारण पालिकाका नागरिकका लागि उक्त एप धेरै उपयोगी हुने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “सहज ढङ्गबाट सूचना पाउने भएकाले यो एपले नागरिकलाई निकै फाइदा हुने अपेक्षा लिएका छौँ, अब सञ्चालनमा आएपछि अन्य कुरा बुझिने छ ।” सम विकास केन्द्रका सूचना अधिकारी पदम मिजारले पहिलो चरणमा जिल्लाका तीन पालिकालाई हस्तान्तरण गरिएको एप्लिकेशन निकट भविष्यमै सञ्चालन हुने बताए । ‘स्मार्ट पालिका एप’मा सम्बन्धित पालिकाको जानकारी समावेश गरिएको बहुउपयोगी एप्लिकेशन भएको उहाँको भनाइ छ ।

सूचना र प्रविधिको उपयोग गरेर पालिकाले गरेका कामका सम्पूर्ण सूचना हेर्न र पालिकाको व्यक्तिगत विवरणसहितको समग्र प्रोफाइल हेर्न पाइने छ । सेवाग्राहीले पञ्जीकरण (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ) सम्बन्धीका व्यक्तिगत घटना घरबाटै एपमार्फत गर्न सकिने छ । जनप्रतिनिधि तथा कर्मचारीसँग सिधै गुनासो राख्न सकिने र सोहीमार्फत जवाफ दिन पाइने भएकाले यो एप निकै उपयोगी हुने केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

पालिकामा हस्तान्तरण गरिएको एपले पालिकाको कामकाज गर्नका लागि छिटोछरितो तथा प्रभावकारी हुनुका साथै स्थानीय सरकारलाई योजना निर्माणमा पनि सहज हुने विश्वास लिइएको जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले बताए । उनका अनुसार यो एप्लिकेशनमार्फत नागरिकको अपेक्षा र सरकारले गरिरहेको काम दुवै पक्षलाई जानकारी हुनेछ भने विद्युतीय सुशासन प्रविधिले नागरिक र स्थानीय सरकारबीचको सम्बन्धमा सुधार हुनेछ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्