Logo

अमेरिकामा गैरकानुनी आप्रवासी समस्या उस्तै



अमेरिकामा जो बाइडेनले राष्ट्रपति पद सम्हालेको एक सय दिन पुग्यो । तर, दक्षिणी सीमाको सङ्कट समाधान गर्न उनको सरकारले खासै काम गर्न सकेको देखिएन ।
आप्रवासीहरू गैरकानुनीरूपमा अमेरिकाको दक्षिणी सीमाबाट ओइरिरहेका छन् । उनीहरूसँग आउने केटाकेटीको सङ्ख्या पनि बढ्दो छ । आलोचकहरू यसलाई मानवीय सङ्कट भनिरहेका छन् । टेक्सास राज्यको डोना पहिले कोभिड–१९ को सुरक्षा उपाय पालना गरिरहेका केही सय मानिसको बसोबास भएको गाउँ थियो । अहिले त्यहाँ बस्ने मानिसको सङ्ख्या चार हजार पुगिसकेको छ । गैरकानुनीरूपमा भित्रिएका आप्रवासीहरूको कारण त्यहाँको जनसङ्ख्या बढेको हो ।

बाइडेन सरकारलाई समस्या समाधान गर्न धौ धौ भइरहेको छ । राष्ट्रपति पदमा पदासीन भएयताका सुरुका एक सय दिनमा बाइडेनको लागि यो समस्या प्रमुख धब्बा भएको भनी आलोचकहरूले आलोचना गरे । ‘मेरो विचारमा यो अब सङ्कट बनिसकेको कुरा प्रस्ट भइसकेको छ । केही आप्रवासीहरू विशेषतः केटाकेटीहरूलाई गिरफ्तार गरिसकेको अवस्थामा यो सङ्कट नै हो,’ आप्रवासी नीति प्रतिष्ठानका नीति विश्लेषक जेसिका ब्लोटरले भने ।

ब्रकिङ्स प्रतिष्ठानका वरिष्ठ अध्येता डरेलले भने, ‘सरकारका लागि यो जटिल विषय हो ।’ उनी एकातिर बाइडेन मानिसलाई मानवीय हिसाबले व्यवहार गर्न चाहन्छन् भने अर्कोतिर गैरकानुनीरूपमा नयाँ मानिसको बाढी नै उराल्ने पक्षमा छैनन् । केही विज्ञहरू समुद्री आँधी, गरिबी र हिंसाजस्ता विषयले गैरकानुनी आप्रवासीहरूको सङ्ख्या बढिरहेको बताउँछन् । तर, समस्या कायम रहनुको मूल कारण बाइडेनको सीमा नीतिमा परिवर्तन भएको उनीहरूको भनाइ छ ।

‘बाइडेन सरकारका सुरुका एक सय दिन अमेरिकाको खुलमखुला आक्रामक अपमान हो,’ रिपब्लिकन रणनीतिकार र टीभीका समाचार प्रस्तोता फोर्ड ओकोनेलले भने । उनले भने, ‘सीमाको समस्या बाइडेन आफैले सिर्जना गरेको विषय हो ।’ हालै फक्स न्युज वेभसाइटको विचार पृष्ठमा प्रकाशित लेखमा सिनेटर थोम टिलिसले गत महिना सीमा क्षेत्रको भ्रमणको क्रममा आफ्नै आँखाले ‘कोही पनि साथमा नभएको बालबालिका, खराब अवस्थाका आप्रवासीको सङ्ख्या बढिरहेको र सीमा रक्षकहरूले अति धेरै काम गर्नुपरेको’ देखेको बताए । उनले यो सब बाइडेन सरकारको असफल नीतिको प्रत्यक्ष परिणाम भएको बताए ।

‘आफ्ना शब्द र कामबाट बाइडेन सरकारले आफ्नो सीमा सबैको लागि खुला रहेको प्रस्ट सङ्केत गरेको छ र संसारले यसरी नै बुझेको छ,’ टिलिसले सहमति जनाए ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुएल लोपेज ओब्राडरले हालै राष्ट्रपति बाइडेनको सरकारले आप्रवासीहरूलाई उपरान्त राम्रो व्यवहार हुने अपेक्षा जगाएको बताए । ‘त्यही भएर मध्य अमेरिकी आप्रवासी र आफ्नै देशका जनता सीमा पार गर्न सजिलो हुने भन्दै उता जान तयारी गरिरहेका छन्,’ उनले भने । आफ्नो पहलमा राष्ट्रपति कार्यालयले भने यो समस्या समाधान गर्न दुवै पक्षको संलग्नता खोजिरहेको छ ।

सिमाना नाघेपछि एक जना वयस्क आप्रवासीले पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया भएको बोल्टरले बताए । त्यसैगरी परिवारसहित आउने र अभिभावक नभएका बालबालिकाहरूले पालना गर्नुपर्ने फरक प्रक्रिया छन् । विज्ञहरूका अनुसार एक्लै वयस्क व्यक्तिलाई तत्कालै मेक्सिको वा अर्को देशमा धपाइन्छ । सीमा रक्षकहरूले समात्न नसकेका तर सीमा पार गरिसकेका व्यक्तिहरूलाई अमेरिकी अध्यागमन तथा भन्सार हिरासतमा पठाइन्छ । अनि, उनीहरूमाथि अध्यागमन अदालतसमक्ष मुद्दा चल्छ । अदालती कारबाही चलुन्जेल उनीहरूमध्ये अधिकांश अध्यागमन हिरासतमा कैदमा राखिन्छ । तर, उनीहरूमध्ये केहीलाई मानवताको आधारमा रिहा गर्न पनि सक्छ । त्यसरी एक्लै आउने वयस्क आप्रवासीको सङ्ख्या ८७ प्रतिशत रहेको गत मार्च महिनाको तथ्याङ्कले देखाउँछ ।

परिवार नै आउनेको सन्दर्भमा अमेरिकी सीमा रक्षकहरूले पक्राउ गरे तत्कालै मेक्सिको वा अन्य देशमा धपाउने गरिन्छ । सीमा रक्षकहरूले धपाउन नसकेकाहरूलाई टेक्सासको डोना जस्ता गाउँमा बस्न दिइन्छ । यसरी परिवारसहित आउनेको सङ्ख्या गत मार्चको तथ्याङ्कअनुसार ३३ प्रतिशत छ ।

कसैमाथि सुपुर्दगीको प्रक्रिया पनि लागु गर्न सक्छ । उनीहरूलाई आईसीई परिवार हिरासतमा छोटो समयको लागि राख्न सक्छ । अनि उनीहरूलाई या त फिर्ता पठाइन्छ नभए शरण दिइन्छ । बाँकी अरू लामो कानुनी प्रक्रियामा पठाइन्छ । अदालती कारबाही चलुन्जेल उनीहरूलाई समुदायमा बस्न रिहा गरिन्छ ।

त्यहीबाट गैरसरकारी संस्थाहरूले संरा अमेरिकाकै अन्य स्थानमा बसेका परिवार वा मित्रहरूसँग पुनर्मिलनको लागि यात्रा गर्ने व्यवस्था गरिदिन्छन् । कोही पनि नभएका केटाकेटीको सन्दर्भमा बाइडेनको सरकार बनेयता उनीहरूलाई तत्कालै निकाला गरिँदैन । सीमा रक्षकहरूको प्रक्रिया पूरा भएपछि उनीहरूलाई शरणार्थी पुनर्वास कार्यालयको हिरासतमा स्थानान्तरण गरिन्छ । यो हिरासत स्वास्थ्य तथा मानव सेवा सङ्घीय विभागअन्तर्गत रहने गर्छ ।

ती बालबालिकालाई तीन थरी व्यवस्थामध्ये कुनै एउटामा पठाइन्छ । कुनै व्यवस्था सानो खालको हुन्छ । त्यहाँ विभिन्न थरी सेवा उपलब्ध हुन्छ । जस्तैः अदालती मुद्दाको व्यवस्थापन, शिक्षा आदि । कुनैमा भने खाना, आधारभूत स्वास्थ्य सेवा र अन्य आधारभूत मनोरञ्जनका सेवा सहितको आकस्मिक सेवा उपलब्ध हुन्छ ।
केटाकेटीको सन्दर्भमा मुख्य लक्ष्य उनीहरूका संरा अमेरिकामै रहेका प्रायोजक (प्रायशः उनीहरूका आफन्त) को जिम्मा लगाउनु हुने गर्छ । आप्रवासी अदालतमा कारबाही चल्दै गर्दा उनीहरू ती आफ्ना आफन्तसँग बस्न सक्छन् । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्