Logo

२१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई माधव नेपाल पक्षले गरायो



काठमाडौं, २१ वैशाख । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ ।

बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी आएको छ । तर यो उहाँहरुको घुर्की मात्र हो ।’ राजीनामा दिनलागेका सांसदहरु सबै माधव नेपाल र झलनाथ खनालसँग निकट हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिन लाग्दा नेकपा एमालेभित्र नयाँ घटना विकास हुन लागेको हो । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमालेको हाल १२१ प्रतिनिधि सभा सदस्य संख्या छन् । नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचितले राजीनामा दिएमा १०० मात्र बाँकी रहन्छ । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

ओलीले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने सम्भावना पनि समाप्त हुन सक्छ । काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्