Logo

देशी/विदेशी शक्ति पैसाको झोलासहितको गाडीमा केही जसपा सांसदको घरदैलो गर्दैछ : पाण्डे



काठमाडौं, २१ बैशाख । जनता समाजवादी पार्टी, नेपाल फुटको संघारमा पुगेको छ । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईनिकट नेता विश्वदिप पाण्डेले यस्तो संकेत गरेका हुन् । सामाजिक सञ्जाल फेशबुकमार्फत पाण्डेले नेपालको संसदीय राजनीतिमा फेरि फोहोरी खेल सुरु भएको हो । उनले लेखेका छन्–‘काँग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ । हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी(विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ ।’

उनको स्टाटस जस्ताको त्यस्तै :

नेपालको संसदीय राजनीतिमा पजेरो काण्ड, बैङ्कक काण्ड, सुरासुन्दरी काण्डलगायतका अनेकन कुख्यात काण्डहरूले कालो दाग छोडेका छन् । यो बीचमा नेपालको नदीनालामा निकै पानी बग्यो । पानी मात्रै होइन, हजारौं नेपालीको रगत र पसिना पनि बग्यो । व्यवस्था परिवर्तन गर्ने क्रान्ति र आन्दोलनहरु भए । जसले संसदीय राजनीतिमा लागेको त्यो दाग मेट्ने अपेक्षा गरिएको थियो । सुसंस्कृत राजनीति मार्फत । तर विडम्बना ती घृणा गर्न र बिर्सनलायक सबै काण्डलाई माथ गर्ने खालको, संसदीय राजनीतिलाई थप विकृत बनाउने कुकृत्य नेपाली राजनीतिमा पुनः हुन थालेको छ ।

सत्तासीन पार्टी आफू सत्तामा टिकिराख्न जुनसुकै स्तरमा गिर्न पनि तयार भएर आएको छ । प्रतिपक्षी दल पनि अराजनीतिक नाङ्गो नाँच हेरेर आनन्द मानिरहेको छ । काँग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ । हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद/कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । यस्तो स्थितिमा जसपा फुटमा रमाउने भन्दा पनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लागौं ! यो जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो । यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशकअघिको राजनैतिक कुसंस्कार थप झ्याँङ्गिदै जानेछ । क्रान्ति र आन्दोलनमा भएका वलिदानहरू खेर जानेछ । जनताका अपेक्षाहरू धुमिल हुनेछ । त्यसकारण यसलाई बेलैमा रोकौं, सबै सचेत बनौं । हाम्रो पुस्ता त यस्तै भयो, कम्तिमा हुर्कँदै गरेको भावी पुस्ताको लागि सोचौं ।



प्रतिक्रिया दिनुहोस्