Logo

त्रिभुवन विमानस्थलबाट ५ जना पक्राउ



काठमाडौं , २१ बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु सहित ५ जना सोमबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा प्युठान स्थायी वतन भएका यमलाल खनाल, गुल्मी स्थायी वतन भएका जनक खड्का, नुवाकोट ठेगाना भएका सुमित तामाङ तथा धन बहादुर तामाङ र नवलपरासी ठेगाना भएका राजु विश्वकर्मा रहेका छन् ।

पक्राउमध्ये एयर अरेवियाको उडानद्वारा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु २ थान र २ थान बाला बरामद भएको छ । साथै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धन बहादुर तथा नेपाल एयरलाइन्सद्वारा आएका राजुको साथबाट जम्मा ७ सय ९ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्