Logo

कर दाखिलाको म्याद थप्न माग



काठमाडौं, वैशाख २२ । सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएको भन्दै निजी क्षेत्रका संघ संस्थाले समय थप गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को नयाँ प्रकारको सङ्क्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो ।

महासङ्घले मङ्गलवार सरकारका सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको जनाएको छ ।

कोभिड महामारीका कारण दैनिक उपभोग्यबाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारसमेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न माग गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्