Logo

माधव नेपालसँग देउवाको अडान : ‘पहिला तपाईहरु राजीनामा दिनुहोस अनिमात्रै अविश्वासको प्रस्ताव बढाउँछु’



काठमाडौं, २२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । हिजो साँझ चार नेताहरुबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको उच्च स्रोतको दाबी छ ।

महाराजगञ्जस्थित् व्यापारी प्रमोद राणाको घरमा चार नेताहरुबीच हिजो साँझ भेटवार्ता भएको हो । यसअघि पनि सोही घरमा देउवा र दाहालबीच भेटवार्ता हुँदै आएको थियो । हिजोमात्रै कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिन असफल तुल्याउने निर्णय गरेको थियो । उता, माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने तयारी गरेपछि कांग्रेस र माओवादी केन्द्रले पार्टीको बैठक राखेर यस्तो निर्णय गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई जसरी पनि विस्थापित गर्ने निर्णयमा दाहाल र देउवामात्रै होईन, माधव नेपाल, उपेन्द्र यादव र बाबुराम भट्टराई पनि सहमत भएका छन् । माधव नेपाल पक्षधर सांसदहरुले ओलीलाई बहुमत पुग्न नदिनेगरि सामूहिक राजीनामा दिने तयारी गरेका छन् । हिजो भएको चार नेताबीचको भेटवार्तामा नेता नेपालले देउवालाई अविश्वासको प्रस्ताव ल्याउन सुझाएका थिए ।

तर, देउवाले पहिले ‘तपाईँहरुले सांसदबाट राजीनामा दिनुहोस’ भन्ने शर्त राखेका थिए । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको साथ लिएर विश्वासको मत लिने तयारीमा रहेको थाहा पाएपछि देउवाले यस्तो शर्त राखेका हुन् । स्रोतकाअनुसार जसपाका अध्यक्ष यादवले आजको दिनमा आफूसँग १८ जना सांसद रहेको सुनाएका थिए । उनले ठाकुर पक्षसँग कार्यकारिणी समितिमा पनि बहुमत नरहेको बारे चार नेताको छलफलमा ब्रिफिङ गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्