Logo

दीपेन्द्रको पहलमा रत्नराज्यमा अक्सिजनसहितको आइसोलेसन बन्दै



काठमाडौं, २२ बैशाख । बाग्मती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क ) का सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गर्ने तयारी भएको छ । प्रदेशसभा सदस्य श्रेष्ठका अनुसार संक्रमणको उच्च जोखिममा परेका बिरामीलाई राहत दिने तथा समूदायको हितलाई लक्षित गरेर करिब ३० बेडको अक्सिजनसहित उक्त स्कुलमा आइसोलेसन वार्ड बनाउन लागिएको हो ।

बानेश्वर निबासी लायन्स क्लवमा कार्यरत समाजसेवी अनामिका अर्यालसँग समन्वय गरेर उक्त ठाउँमा आइसोलेसन वार्ड बनाउन लागिएको उनको भनाई छ । यो आइसोलेसन वार्ड १०० ग्रुपले व्यवस्थापन गर्ने भएको छ । उक्त ग्रुपले त्यस वरपरका क्षेत्रमा पनि अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माणका लागि प्रदेशसभा सदस्य श्रेष्ठसँग समन्वय गरिरहेको छ ।

बानेश्वर र आसपासका क्षेत्रमा सामुदायिक विद्यालय, निजी विद्यालय, पार्टी प्यालेस वा सामूदायिक भवनहरू भएमा आफूलाई खबरगरी सहयोग गर्न उनले आग्रहसमेत गरेका छन् । कोरोनाको उच्च जोखिमबाट आफू पनि बचौ र अरूलाई पनि बचाउँदै संकीर्ण सोचबाट बाहिर निस्केर मानव सेवामा लाग्न श्रेष्ठको अपिल छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११का अध्यक्ष हिरालाल तण्डुकारको निबासमा भएको छलफलमा कोरोनाको संक्रमणबाट प्रताडित संक्रमितहरूलाई अक्सिजन उपलव्ध गराउने सम्बन्धमा एवं आईशोलेसन वार्ड निर्माण गर्ने निर्णय भएको छ । प्रदेशसभा सदस्य श्रेष्ठ , प्रदेशसभा सदस्य राजेन्द्र गुरूङ तथा वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीसहितको सहभागितामा उक्त निर्णय भएको हो ।



प्रतिक्रिया दिनुहोस्