१० प्रतिशत कमिशनको खेलले भ्याक्सिन रोकिएको खुलासा


काठमाडौं, २२ वैशाख । कोरोना भाइरसको महामारीविरुद्धको भ्याक्सिन कमिशनको खेलले ढिलाई भएको खुलेको छ । नागरिकको जीवनमाथि सरकारमा रहेका जिम्मेवार अधिकारी र केही एजेन्ट व्यापारीबाटै खेलवाड भएको खुलासा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नै गरेका छन् ।

सेरम कम्पनीको नेपाल एजेन्ट कमिशनका लागि सक्रिय हुँदा १० लाख डोज खोपको आपूर्ति रोकेको र ५० लाख डोज खोप खरिदका लागि मूल्य प्रस्ताव गरिसक्दा अवरुद्ध भएको त्रिपाठीले खुलाएका छन् । सरकारसँग सिधा सम्झौता गरेर खोप खरिद गर्दा एजेन्ट कम्पनीले १० प्रतिशत कमिशन राख्न भन्दा त्रिपाठीले हटाएका थिए । १० लाख डोज खरिद गरेर नेपाल ल्याएको र बाँकी १० लाख डोज ल्याउन खोज्दा कमिशन एजेन्टले रोकेका थिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुँदा मन्त्रालय र निजी कम्पनी हुकाम डिस्टिब्यूटर्स एन्ड लजिस्टिक प्रा।लि।बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, सरकारले सोझै खोप खरिद गर्ने सम्झौता गरेर कमिशनको ढोका बन्द गर्न खोज्यो । कमिशन हटाएर सम्झौता गरी बढेको भन्दै सेरमको स्थानीय एजेन्टहरु विजय दुगड र सुरज वैद्य सक्रिय भए । शुरुमा खोप खरिद गर्दा १० प्रतिशत कमिशन समेत नछुटाउन भने । उनीहरुले माथिल्लो तहबाट पनि स्वास्थ्यमन्त्री त्रिपाठीमाथि दबाब सृजना गर्न खोजे । तर, मन्त्री त्रिपाठी डेग चलेनन् । सुरज वैद्य र उनकी पत्नी ऋतु सिंह वैद्यको प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधा सम्पर्क थियो । उनले खोप ल्याउनुमा आफ्नो भूमिका रहेको दाबी गर्दै आए । कमिशन प्रतिशत हटेपछि उनी चिढिए । त्यसपछि स्थानीय एजेन्टहरु दुगड र वैद्य खोप रोक्न काठमाडौं देखि दिल्ली र पुणेसम्म सक्रिय भए । उनीहरुकै सक्रियताले खोपको दोस्रो लट रोकियो ।

नागरिक कोरोना भाइरसको महामारीसँग फेरि जुध्नुपर्ने परिस्थिति भयावह आउनुमा कमिशनको खेल पनि कारण देखियो । जसमा सरकारका उच्च अधिकारी देखि कमिशन एजेन्टहरुको मिलेमतो पनि मुख्य कारण बन्यो । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले सोझै सेरमसँग खोप खरिद गरी एजेन्टको १० प्रतिशत हटाउन खोजे । १० प्रतिशतको खेलले कमिशन एजेन्ट र सरकारका जिम्मेवार अधिकारीहरु नै खोपबाट आर्थिक लाभ नगुमाउन् लागे ।

५ फागुन २०७७ मा सेरमसँग खरिद गरिएको १० लाख डोज खोप आइपुग्यो । तर, त्यसपछि अर्को १० लाख डोज भने रोकियो । सरकारले खोप भित्रने ठानेर ढुक्क भई खोप दिन थाल्यो । तर, सेरमबाट खोप रोकिएपछि धेरै खोप लगाएकाहरुले दोस्रो डोज लगाउन पाएनन् ।