Logo

कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल



काठमाडौं, बैशाख २३। जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको सेस्तेदार मुना अधिकारीले जानकारी दिइन् ।

कुन्जोकको मुद्दामा गत ८ वैशाख न्यायाधीश नेपालको इजलासले फैसला गरे पनि सजाय निर्धारण भने बुधबारको इजलासले गरेको हो ।२०७५ सालमा फौजदारी संहिता लागू भएपछि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा अदालतले सुरुवातमा आपराधिक अभियोग लागेको कुनै व्यक्ति दोषी रहे÷नरहेको ठहर गर्नुपर्छ । सोहीअनुसार पहिला फैसला गरेर पछि सजाय निर्धारण गरिएको हो ।

नेपालमा मात्रै नभएर भारतमा समेत वन्यजन्तु तस्करीमा नाम जोडिएका कुन्जोकलाई इन्टरपोलको सहायतामा नेपाल प्रहरीले ११ असार २०७६ मा पक्राउ गरी रसुवा जिल्ला अदालतमा बुझाएको थियो । १५ वर्षअघि ठूलो परिणाममा पाटेबाघ र चितुवा छालासहित रसुवा स्याप्रुबाट पाँच जना पक्राउ परे पनि उनी फरार थिए ।

जिल्ला अदालतमा वन्यजन्तु तस्करी अपराधमा मुद्दा चलेपछि उनले कानुन छिद्रबाट उम्कन उच्च अदालत पाटन र सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै तहको अदालतले रिट खारेजी गरिदिएपछि कानुनी छिद्र देखाएर फुत्कने प्रयास असफल भएको थियो ।

कुन्जोकले जेलबाट छुट्न २ कात्तिक २०७६ मा सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा ३ कात्तिकमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गर्दै फाइल मगाउने आदेश गरेको थियो ।

त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो भने विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, कुन्जोक आफैंले दुईवटा पेसीमा सुनुवाइ स्थगित गराए । तेस्रोपटक तोकिएको पेसीमा भने सुुनवाइ भएसँगै कुन्जोकको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको हो ।

१६ भदौ २०६२ मा रसुवा स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । तामाङ घटनाका मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तु तस्करी गर्दै आएका थिए । रसुवामा सेनाले बरामद गरेको घटना नेपालको इतिहासमै वन्यजन्तु अपराधसँग सम्बन्धित ठूलोमध्येको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्