Logo

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव



– निरा गौतम रुपन्देही, २३ वैशाख: बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन् ।

अक्सिजन सप्लायर्सले समयमा आपुर्ति नगरीदिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा समस्या हुने देखिएको छ । लुम्बिनी प्रदेशिक र धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित बिरामी बढेपछि अक्सिजनको खपत पनि बढेको छ तर मागअनुसार अक्सिजन उपलब्ध नहुँदा अभाव भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

आज दिउँसोसम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपूर्ति नभए सघन उपचार कक्षमा उपचाररत बिरामीको अवस्था नाजुक हुनसक्ने उहाँले बताउनुभयो । दैनिक २०० सिलिण्डरको माग हुने अस्पतालमा दैनिक ८० देखि १०० सिलिण्डर मात्र रहेको र समयमा थप सिलिण्डर नआए बिरामीको ज्यान जोखिममा पर्ने सूचना अधिकारी डा गौतमले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो भएकाले श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अक्सिजनको माग बढी छ । अस्पतालले अहिले नेपालगञ्जबाट अक्सिजन आपूर्ति गरेको छ । अन्य जिल्लामा पनि अक्सिजनको माग बढी भएकाले सप्लायर्सले नियमितभन्दा धेरै आपूर्ति गर्न नसक्ने बताएपछि समस्या आएको अस्पतालले जनाएको छ । । अस्पतालले अन्य आपूर्तिको पहल भइरहे पनि अहिलेसम्म कुनै सप्लायर्ससँग सम्झौता हुनसकेको छैन । अस्पतालकै अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइए पनि अपुग भएको छ ।

प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दैनिक १५० सिलिण्डरको खपत हुँदै आएको छ । कोरोनाका बिरामी बढेपछि त्यहाँ पनि माग बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक ४०० देखि ५०० सिलिण्डर अक्सिजन आपूर्ति गरिदिन सामाजिक सञ्जालमार्फत याचना गर्नुभएको छ । अहिले सप्लायर्सबाट आपूर्ति भएको १००–१५० सिलिन्डर अक्सिजनले थाम्न नसक्ने भएकाले थप सिलिण्डर आवश्यक भएको उहाँले बताउनुभयो ।

“अझ हामीले दुई÷चार दिनमै अर्को एचडीयू खोल्दा र अन्य अक्सिजन श्यया थप्दा सम्भव भए ३०–३५ श्ययाको अर्को कोभिड आइसीयू बनाउँदा कम्तीमा एक हजार सिलिन्डरको आपूर्ति हुनुपर्ने हुन्छ, कसरी व्यवस्था गर्नु”, उहाँले आफ्नो फेसबुकमार्फत सहयोगका लागि आग्रह गर्दै भन्नुभएको छ ।

लुम्बिनी प्रादेशि अस्पतालमा अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शङ्का लागेका बिरामीलाई पनि आकस्मिक कक्षमा राखेर उपचारको व्यवस्था मिलाइएको छ । अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा फिवर क्लिनिकमा सात, कोरोना विशेष अस्पतालमा अक्सिजनजडित श्यया (एचडीयू) ३६ तथा १५ वटा सघन उपचारकक्ष (आइसीयु) श्यया छन् । यीबाहेक बेञ्च तथा भुइँमै राखेर पनि अक्सिजनको सहायतामा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

अक्सिजनको अभाव भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको छ । अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेशनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अभाव देखिएको जनाउँदै अस्पतालमा सिलिण्डर उपलब्ध गराउन उहाँले आज सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको हो ।-रासस



प्रतिक्रिया दिनुहोस्