Logo

भ्याक्सिन निर्माता सेरमका सीइओ पुणेवाला यसकारण विश्वको चासोमा परे



काठमाडौं, २३ वैशाख । यतिबेला भारत कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको छ । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरेर विदेशी मुलुकलाई समेत निर्यात गर्न थालेको भारतमाथि यो विपत्ति आइपर्दा एकजना भारतीय विश्वकै चासोमा परेका छन् । उनी हुन् अडर पुणावाला जो परिमाणको हिसाबले विश्वकै ठूलो भ्याक्सिन निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी निर्देशक हुन् ।

पुणेवाला यतिबेला बेलायतमा छन् । भारतमा कोरोना भाइरसको दोस्रो लहर भयावह बनिरहँदा उनी अचानक लन्डन जानुले तरंग नै ल्यायो । सुरक्षा चुनौतीको विषय पनि आयो ।

अडर पुणेवालालाई भारत सरकारले वाइ श्रेणीको सुरक्षा प्रदान गर्ने निर्णय हालै गरेको छ । उनले टाइम म्यागाजिनसँगको अन्तर्वातामा आफूलाई भारतका निकै शक्तिशाली व्यक्तिहरुको धम्कीयुक्त फोनहरु आएको विषय समेत खुलाए । तर, क कस्ले धम्की दियो खुलाएका छैनन् । भारतको विभिन्न राज्यका मुख्यमन्त्री देखि शक्तिशाली व्यक्तिले अडर पुणेवालालाई भ्याक्सिन उपलब्ध गराउन धम्की दिएको उल्लेख छन् ।

यतिबेला भारतमा कोरोना भाइरसको महामारी बढेपछि भ्याक्सिनको माग ह्वात्तै बढेको छ । उत्पादनले नभ्याउने गरी माग बढेपछि सेरम दबाबमा छ । सिइओ पुणावाला झन् ठूलो दबाबमा छन् । उनले केही दिनमै भारत फर्कने जवाफ दिएका छन् । तर, मिति बताएका छैनन् ।

पुणेवालाले सेरममा कोभिसिल्ड भ्याक्सिन तिव्र गतिमा उत्पादन भइरहेको र आफू फर्किएपछि सक्रियतालाई अझ बढाउने बताएका छन् । सबै आफ्नो काँधमा आएको र आफू एक्लैले केही गर्न नसक्ने स्पष्ट पारे ।

अडर पुणेवालाले सेरम इन्स्टिच्युट अफ इन्डियाको लोगोमै विज्ञप्ति जारी गरी ३ मे मा भ्याक्सिन एकै रातमा उत्पादन हुन नसक्ने र सबै जनसंख्यालाई पुर्याउन नसक्ने विषय प्रष्टाएका छन् । उनले भारत सरकारसँग झण्डै साँढे १७ अर्ब भारु भ्याक्सिनवापत् प्राप्त गरिसकेको समेत जनाएका छन् । भारतको जनसंख्या ठूलो भएकाले उत्पादन तत्काल पुर्याउन कठिन भइरहेको उनको भनाई छ ।

यसैगरी, अडर पुणेवालामाथि सुरक्षा खतरा बढेको भन्दै ‘जेड प्लस’ स्तरको सुरक्षा माग गरिएको छ । एकजना कानुन व्यवसायीले बम्बे उच्च अदालतमा पुणेवालालाई जेड प्लस स्तरको सुरक्षा दिनुपर्ने भन्दै रिट दायर गरेका छन् ।-तस्बिर स्रोतः अडर पुणेवालेको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्