Logo

मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित



काठमाडौँ, २३ वैशाख: कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको यही वैशाख ५ गतेको स्वीकृति बमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले यही वैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका लागि कूल ६० लाख कित्ता शेयर बिक्री थालेको थियो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको बुधबारको आग्रहअनुसार आजदेखि शेयर बिक्री स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तथा अन्य विभिन्न छ कम्पनीलाई सहनिष्काशन तथा बिक्री प्रबन्धक तोकेको थियो ।

कूल ६० लाख कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५र ६ का बासिन्दाका लागि कूल १८ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि ४२ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

निशेधाज्ञा जारी रहेको अवस्थामा शेयर बिक्री गर्नु मनासिव नभएकाले तत्कालका लागि स्थगित गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र बिक्री प्रबन्धकका तर्फबाट ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले आज संयुक्त रूपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि साधारण शेयर बिक्री गरिसकेको छ । तेस्रो चरणमा भने आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । कम्पनी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्