Logo

माधव नेपालको दाबी : ‘ केपी ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्न आह्वान गर्दछौं’



काठमाडौं, २४ बैशाख। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन् । पछिल्लो समय अध्यक्ष ओली र नेता नेपालबीच सहमति भएको र वार्ता भएको खबर आईरहेको बेला नेता नेपालको यस्तो भनाई आएको हो । हिजोमात्रै नेता नेपालले शितलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । कतिपय अनलाईनमा नेता नेपाल र ओलीबीच शितलनिवासमा भेटवार्ता भएको र राष्ट्रपतिको रोहबरमा सहमति भएको समाचार आएका थिए ।

नेता नेपालले भने सामाजिक सञ्जाल फेशबुकमार्फत त्यसबारेमा स्पष्ट पारेका छन् । उनले अहिलेसम्म कुनै सहमति नभएको र आफूहरु यसअघिको अडानमा यथावत रहेको पनि प्रष्ट पारेका छन् । उनले लेखेका छन्–”हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।” File Photo/ReportersNepal 



प्रतिक्रिया दिनुहोस्