Logo

एमाले विवाद तीन दिनमा वार कि पार, मिलाउन लागेकाहरु निराश



काठमाडौं, २४ वैशाख । नेकपा एमालेको वैधानिक विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । उनीहरु बालुवाटार र कोटेश्वर धाएको धायै छन् । विगतमा नेकपाको विभाजन रोक्न पनि उनै नेताहरु सक्रिय भएका थिए । तर, केही जोर चलेन ।

यसपटक एमाले विभाजन रोक्न सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको समूहबाट सक्रिय छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समूहबाट योगेश भट्टराई र घनश्याम भुसाल लागिपरेका छन् ।

इश्वर पोखरेलले पनि सहमतिको प्रयासका लागि भन्दै केही भेटवार्ता गरेका छन् । तर, सहमतिका सम्भावना क्षीण हुँदै गएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि एमाले मिलाउन सक्रिय भएकी छिन् । उनले ओली र नेपाललाई एकै ठाउँमा राखेर कुराकानी गराउने प्रयास गरेकी छिन् । उनले हिजो साँझ माधव नेपाललाई शितलनिवासमा डाकेर सहमतिको बिन्दु खोज्ने प्रयास गरिन् । तर, सहमति बन्न सकेन ।

नेपाल समूहका योगेश भट्टराई र घनश्याम भुसालको बालुवाटार ओहोरदोहोर चलिरहेको छ । उनीहरुले २ जेठ २०७५ मा फर्कने माधव नेपालको बटमलाइन ओलीलाई सुनाइसकेका छन् । तर, ओली त्यसमा सहमत छैनन् ।

विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ पनि कसरी सहमति गर्न सकिन्छ भनेर लागेका छन् । बामदेव गौतम एमाले एकढिक्का हुनुपर्ने पक्षमा छन् । उनी माओवादीसँग पनि एकता हुनुपर्नेमा जोड दिदै आएका छन् । उनको पनि कुनै जोर चलेको छैन ।

ओली अगाडि बढेपछि पछाडि हट्न नमान्ने स्वभावका भएकाले पनि सहमति बन्न मुश्किल भएको हो । उनी एमालेलाई पछिल्लो निर्णय टेकेरै एकढिक्का बनाउने तर महाधिवेशन गरेर बढ्ने प्रस्तावको पक्षमा छन् । ओलीले एमालेलाई एक बनाएर अर्ली इलेक्शनमा जान जोड दिइरहेका छन् । ओली कुनै हालतमा अडानबाट टसमस नभएपछि एमाले एक नै रहने सम्भावना कमजोर भएको छ ।

अबको तीन दिनभित्र एमालेमा कुनै सहमति ननिस्किए वार कि पारमा जाने सम्भावना बलियो हुनसक्छ । माधव नेपालले कठोर कदम चाल्ने तयारी गरिसकेका छन् । उनले ‘सुसाइड गोल’ गरेरै भएपनि ओलीलाई राजनीतिक संघर्षमा हराउने प्रयास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot