Logo

काठमाण्डौका अस्पतालमा विरामीको बिचल्ली, यस्तो छ दर्दनाक दृश्य (भिडियो रिपोर्ट )



वैशाख २४, काठमाण्डौ । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा उपचार गराउनै नपाउने अवस्था सृजना भएको छ । काठमाण्डौकै सरकारी अस्पतालको बाहिरै, भुइमै र एम्बुलेन्समै संक्रमितहरु अक्सिजन लिएर बस्नुपरेको छ । कतिपय निजी अस्पतालले भने बेड खाली हुँदा हुँदै पनि विरामीलाई फर्काइदिने गरेका छन् ।

भिडियोमा देखिएका यि दृश्यहरु काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हो । जहाँ आजभोलि कोरोना संक्रमितहरु उपचार गराउन आइरहेका छन् । दिनैभरी कोही एम्बुलेन्समा त कोही ट्याक्सीमा अनि कोही हिडेरै यहाँ आउने गरेका छन् ।

संक्रमितहरुको संख्या धेरै हूँदा अस्पतालको क्षमताले धान्न सकेको छैन । जसले गर्दा संक्रमितहरु बाहिरै बसेर उपचार गराउन बाध्य छन् । अधिकांश संक्रमित अस्पताल परिसरमा अक्सिजनको साहारामा बसिरहेका छन् । अवस्था यस्तोसम्म छ कि एम्बुलेन्सभित्रै संक्रमितहरु अक्सिजन लिँदै बसिरहेका छन् ।

उता त्रिवी शिक्षण अस्पताल महाराजगंजमा पनि समस्या उस्तै छ । उपचार गराउन आएका संक्रमितले बेड नपाएर भौँतारिनुपरेको छ । अस्पतालमा पर्याप्त जनशक्तिसमेत नहुँदा थप समस्या हुने गरेको छ ।

समस्या यति मात्रै छैन, कतिपय निजी अस्पतालले त संक्रमितको उपचार गराउनै मान्दैनन् । अस्पतालमा बेड हुँदा हुँदै पनि उपचार नगरिदिएपछि संक्रमितलाई कहिले कुन अस्पताल त कहिले कुन अस्पतालमा दौडाउनुपरेको छ ।

कोरोना संक्रमणले अवस्था निकै भयावह भैसकेको छ । काठमाण्डौमै त अस्पतालका बेड भरिएका छन् भने अन्य जिल्लाहरुको अवस्था कस्तो होला ? देशका विभिन्न स्थानमा संक्रमितहरुले अस्पतालको बेड नपाएर, अक्सिजन नपाएर र राम्रो उपचार नपाएर मर्न बाध्य भइरहेका छन् । सरकारले नागरिकको ज्यान जोगाउनका लागि चाल्नुपर्ने कदम अझै चाल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्