Logo

‘देवकोटाको अँगालोमा पूरै समाज छ’



बीपी कोइराला :

साथीहरू !

म धेरै कराएर बोल्न सक्तिन, त्यो तपाईंहरूलाई थाहा छ । आज देवकोटाजीको जन्मदिवसमा उहाँको मूर्तिको अनावरण गर्न पाउँदा मलाई बडो गौरवको अनुभव भइरहेछ । देवकोटाजीका सम्बन्धमा अहिले मोहन कोइराला र अरू वक्ताहरूले जुन मार्मिक किसिमबाट भन्नुभयो, त्यस्तो किसिमबाट म भन्न सक्तिनँ ।

मलाई देवकोटाजीको बडो लामो सहवासको (सँगै बस्ने) मौका मिल्यो । म उहाँलाई धेरै आदर गर्थे । किनभनेदेखि, सबभन्दा मूख्य कुरा नेपालमा जुन परिवर्तनको लहर आएको छ यो व्यापक (म त राजनीतिमा लागेको व्यक्ति हुँ, राजनीतिले परिवर्तनको एउटा पक्षमात्र अँगालेको हुन्छ, तर देवकोटाजीले हाम्रो सामाजिक संवेदनशीलता, हामीहरूको भावुकता, हामीहरूको मनोविज्ञानलाई नै छोएर) परिवर्तनपट्टि देशलाई लैजाने, समाजलाई लैजाने, उहाँको प्रक्रिया भएको थियो ।

मैले भन्न खोज्या के भन्देखि जब एउटा नयाँ सभ्यता आउन खोज्दछ, त्यो सभ्यताको रुपचाहिँ सर्वव्यापी हुन्छ । रिनेसाँ जस्तो, पुनर्जागरण जस्तो, नेपाल हठात् एउटा नयाँ व्यवस्थापनमा प्रवेश गर्न खोजेको जस्तो, त्यसको सबभन्दा ठूलो प्रतीकको रूपमा उहाँ आउनुभएको थियो, साहित्यकोजगत्मा । उहाँ हामीहरूको निश्चल भएको (राजनीति या अरू दृष्टिबाट पनि) अगाडि नबढ्न थालेको समाजमा एउटा बिजुली चम्क्या जस्तो गरिकन अवतीर्ण हुनुभयो, समाजलाई एउटा नयाँ रूप दिन । पहिल्यैका जति कविताहरू थिए, जति साहित्यकारहरू थिए, उनीहरूको एउटा रुढीगत धारणा थियो । बडा राम्रा–राम्रा साहित्यकारहरू पनि भए, ठूला–ठूला पनि भए, हाम्रा भानुभक्तहरू भए । तर उनीहरूको जुन चिन्तन थियो, जुन संवेदनशीलता थियो, त्यो संवेदनशीलताले यो भन्न मिल्दैन कि पुनर्जागरणमा मद्दत गरेको थियो । एउटा रुढीसम्बन्धी, रुढीगत संवेदन थियो त्यो । उहाँहरूका लय पनि एउटा रुढीगत । तर महाकवि देवकोटाले एउटा नितान्त नयाँ प्रयोग दिनुभयो, नितान्त नयाँ भावना जनता (पाठक) का अगाडि राख्नुभयो । जसबाट म भयानक प्रभावित भएको थिएँ ।

उहाँसँग कुरा गर्दाखेरि म पनि आफूलाई लेख्ने मान्छे भन्ठान्थेँ, (त त्यही साहित्यकारको हैसियतले आज तपाईंहरूले मलाई बोलाउनुभयो र उहाँको मूर्तिको अनावरण गर्न लाउनुभो— म कुनै राजनीतिक व्यक्ति भनेर होइन) र मलाई पनि लाग्दथ्यो, साहित्यका निम्ति मैले पनि केही सेवा गरेको छु । तर उहाँसँग कुरा गर्दाखेरि मेरो र उहाँको कुरामा एउटा बडो फरक कुरा म पाउँथे । म यसलाई राम्रो किसिमको फरक थियो भन्न खोज्दैछु । एउटा कुरा के भन्देखि, म एउटा राजनीतिक दृष्टिकोणबाट, या भनुँ एउटा प्रशासकीय दृष्टिकोणबाट, या भनुँ आर्थिक दृष्टिकोणबाट नै मेरो संवेदनशीलता जागेको थियो । तर उहाँको संवेदनशीलता यति व्यापक थियो कि धनी मान्छेहरू पनि गरिब छन् भन्ने पनि उहाँले बुझ्या थियो । त्यो अभावग्रस्तता, केवल भौतिक क्षेत्रमा मात्रै मान्छे अभावग्रस्त हुँदैन, संस्कृतिको क्षेत्रमा पनि, उसको मनोवैज्ञानिक क्षेत्रमा पनि ऊ अभावग्रस्त हुन्छ । त, उहाँको विचार र साहित्यको पकड चाहिँ सर्वव्यापी थियो । जहाँजहाँ सुकेको त्यो मरु–हृदय छ, अभावको जीवन छ, त्यसमा उहाँले रस दिंदै जानुभयो ।

एकचोटी उहाँसँग मेरो कुरा भयो— बहस जस्तो कुरा भयो, हस त उहाँ गर्नुहुन्नथ्यो । मचाहिँ आफ्नो मार्क्सवादको विचारलाई लिएर उहाँसँग वडो अग्रसर हुन्थें बहस गर्न । मैले उहाँलाई, अन्त्य–अन्त्यतिर भन्नुपर्‍यो— एकचोटी भनेँ— ‘तपाईंले भन्न खोजेको कुरा के हो ? कताट्टि दिशा दिन थाल्नु भइरहेको छ ? तपाईंको फिलोसफी के हो भन्दा उहाँ चकित जस्तो हुनुभयो । अनि उहाँले भन्नुभयो, ‘एउटा साहित्यकारले, संवेदनशील साहित्यकारले त मानिसका विभिन्न पक्षहरूलाई उजागर गर्छ । उसले कुनै दिशा दिने होइन । दिशा त हामीहरूले (राजनीतिज्ञहरूले) दिने हो । हामीहरूले (साहित्यकारले) त मानव समाजका भावनाका नयाँ–नयाँ पक्षलाई बुझ्दै जाने हो, साहित्यकारको त्यो काम हो । दिशा दिने त हामीहरूले आफूले (राजनीतिमा लागेकाले) हो ।’

त्यस्तो हुनाले उहाँले जो काम गर्नुभाथ्यो, त्यो सम्झाउनलाई उहाँले त्यसो भन्नु भएको थियो । उहाँ छक्क पर्नुभाथ्यो मैले ‘तपाईंलाई कतापट्टि ध्यान छ ? तपाईंको के छ ?’ भन्दा । त, मैले के भन्न खोजेको भन्देखिन् यो पुनर्जागरणको जुन एउटा नयाँ लहर आउन थालेको छ । (बहुत सानो) त्यसको सबभन्दा पैला सूत्रपात गर्ने उहाँ नै हुनुहुन्थ्यो र ऐले पनि, अझै कति वर्ष लाग्ला रे, पचासौं वर्ष लाग्ला रे हामीले नयाँ समाज बनाउने प्रक्रियामा । न केवल राजनीतिक कुराहरूमा मात्र, केवल प्रजातन्त्रका कुराहरूमा मात्र हैन हामीहरूको जनमानसलाई नै परिवर्तन गर्ने प्रक्रियामा— हामीहरूको चिन्तनप्रणालीलाई नै, हामीहरूको संवेदनशीलतालाई फैलाउने–बढाउने, संकुचित भावनाबाट प्रशस्त पार्ने, त्यो प्रक्रिया उहाँले नै प्रारम्भ गर्नुभएको हो ।

आज त म एउटा राजनीतिमा लागेको मानिस । र, म अहिले एउटा तात्कालिक उद्देश्य– राष्ट्रिय एकताट्टि अग्रसर भएर म अघि बढेको राष्ट्रिय एकता भन्ने वित्तिकै त्यस्तो किसिमको व्यवस्था यहाँ होस् जसमा सबैले ठाउँ पाऊन् आफ्नो राजनीतिका लागि— राजाले पनि ठाउँ पाउन् र हामीहरूले पनि ठाउँ पाऊँ । त्यस्तो किसिमको कुनै व्यवस्था हुन सक्छ कि भनेर म त्यताट्टि अग्रसर भएको व्यक्ति हुँ— राजनीति या राष्ट्रिय एकताका लागि । यही समारोह यदि यहाँको सर्वोच्चले गर्‍या भए शायद उहाँको पनि इज्जतको कुरा– गौरवको कुरा हुन्थ्यो र हामीहरूलाई पनि खुशी लाग्ने कुरा हुन्थ्यो । त्यस किसिमको व्यवस्था कुनै हुन सक्तछ कि भन्ने खोजीमा लागेको व्यक्ति हुँ म राजनीतिमा । त त्यसो हुनाले अब यस दृष्टिकोणबाट म कविजी देवकोटाजीको एउटा कुरा भन्न चाहन्छु ।

देवकोटाजीका जति कुराहरू छन्, दरबारमा बसेर पढे पनि एउटा झोपडीमा बसेर पढे पनि सबलाई एउटै धागोले बाँधेको छ उहाँले । मलाई लाग्छ, यत्रो ठूलो राष्ट्रिय भावना जागृत गर्ने कवि त शायद कम्ती नै भएका होलान् । एउटा बडो सेन्सिटिभ रिडर (संवेदनशील पाठक) लाई पनि उहाँले छोएको छ, आफ्नो पकडमा राखेको छ, एउटा हली–कोदाले, गरिब, नपढेको मानिसले पनि उहाँको ध्वनि सुनेर, उहाँको शब्द मात्र सुनेर, रसग्राह (रसलाई ग्रहण) गर्न सकेको छ । त्यसैले पनि उहाँले आफ्नो एउटा अँगालोमा पूरा समाजलाई समातेर राख्नुभाको छ । त्यो कुरालाई हामीले ध्यान दिया छैनौं ।

हामीले उहाँको एउटा पक्षलाई मात्र, जुन पक्षलाई अहिले रिप्रिजेन्ट (प्रतिनिधित्व) गर्दछौं, त्यसलाई मात्रै जुन पक्षले हामीहरू थिचिएको छौं, त्यो पक्षलाई मात्रै पक्डिराख्या छौं । तर उहाँको पक्ष चाहिँ यो राष्ट्रका तमाम व्यक्तिलाई राष्ट्रमा रहेका नेपाली बोल्ने मान्छेलाई र राष्ट्रमा मात्र हैन, (राष्ट्र बाहिर पनि) नेपाली बोल्ने मान्छेलाई समग्र रुपबाट उहाँले समात्या छ ।

आज उहाँको जन्मदिवस हो । त्यसो हुनाले मैले बोल्दाखेरि— (अरूले उहाँको साहित्यिक पक्ष बोल्लान्, मैले बोल्दाखेरि— उहाँको राष्ट्रिय पक्ष उहाँले जन्म लिएर (मलाई लाग्छ) सबभन्दा ठूलो काम गर्नुभएको आफ्नै भाषामार्फत– र कस्तो सजिलो भाषा ! आफ्नो भावनाको मार्फत– कति रस भएको भावना)— कति अन्तस्तललाई छुने भावना— जसले एउटा राष्ट्रिय एकताको बडो ठूला प्रतीक उहाँ हुनुभएको थियो र आजसम्मन् पनि – म त्यो पक्षपट्टि तपाईंहरूको ध्यान दिलाउन चाहन्छु कि म खोजिरहेछु राष्ट्रिय एकता जसका पट्टि म हिँडिरहेछु भन्देखिन् यहाँभन्दा अगाडि अगुवा भएर अरू अरू क्षेत्रबाट सामाजिक क्षेत्रमा होस्, वा साहित्यिक क्षेत्रमा, या कलाका क्षेत्रमा भन्दा मलाई सबभन्दा ठूलो अगुवा अहिले लक्ष्मीप्रसाद देवकोटा लाग्नुहुन्छ ।

तपाईंहरूलाई थाहा छ, म धेरै बोल्न सक्तिनँ । मैले दुई–चार शब्दमात्र भनुँ भनेर । फेरि आज घाम पनि वेशी भएको छ, तपाईंहरूलाई पनि दुःख, मलाई बोल्नलाई, तपाईंहरूले थाहा पाइहाल्नुभो । म दुइटा कुरा भन्न खोजिरहेछु । एउटा कुरा उहाँलाई केवल साहित्यिक मात्र हामीले भन्ने होइन साहित्यको मार्फत उहाँलाई एउटा वर्गको मात्र नेता भन्ने होइन, साहित्यकार मात्र भन्ने होइन । उहाँ एलिट (शिक्षित) हरूको पनि हो । उहाँ चाहिँ जसलाई बुद्धिजीवी भन्छन् (यहाँ एउटा दम्भ राख्ने वर्ग छ, आफूलाई बुद्धिजीवी भन्ने) त्यसको पनि उहाँ नेता हो । त्यसलाई पनि उहाँले दिनुभएको छ । महलमा बस्ने मान्छेलाई पनि उहाँले आफ्नो कविताले छुनुभाको छ उसको हृदयलाई, उसको मार्मिकतालाई, उसको संवेदनशीलतालाई जगाउनु भाको छ उहाँले । यत्रो ठुलो राष्ट्रिय कर्तव्य र काम उहाँले गरेर जानुभयो । उहाँलाई हामीले आज यसरी सम्झिन पाउँदा र उहाँको मूर्ति उद्घाटन गर्न पाउँदा म असाध्य खुसी र गौरवान्वित भएको छु ।

र, वानेश्वरका नागरिकहरूको उत्साह देखेर पनि उहाँहरूलाई मैले के भन्ने हो– कत्रो उत्साह– यो एउटा सानो ठाउँ– त्यसमा यस किसिमबाट एउटा महाकविको जन्मजयन्ती आयोजना गरेर यत्रो उत्साह प्रदर्शन ! यहाँमा तरुणहरू– हामीहरू जस्ता त छँदैछौं– यङ मेनको यत्रो उत्साह देख्ताखेरि मलाई बडो खुशी लाग्या छ । म उहाँहरूलाई बधाई दिन चाहन्छु ।

साथीहरू !

तपाईहरू भन्नुहोला– ‘धेरै लामो बोलेन ।’ मैले भन्ने कुरा मैले लेखेर दिने गर्‍या छु । म धेरै बोलेर भन्न सक्तिन । म यत्ति भन्दछु र यत्ति भनीकन तपाईंहरूलाई फेरि म आग्रह गर्दछु । मैले भनेको दृष्टिकोणबाट महाकवि देवकोटाको ग्रन्थको, उहाँले लेखेको कविताको, उहाँले लेखेका अरू निबन्धहरूको अध्ययन गर्नुहोला । यति भनेर म तपाईहरूरुसँग विदा लिन्छु ।

जय नेपाल !

(बीपी कोइरालाले २०३६ कार्तिक २ गते वानेश्वरको रत्न पुस्तकालयको परिसरमा महाकवि देवकोटाको शालिक अनावरणको अवसरमा दिएको मन्तव्य । पछि यसलाई रत्न पुस्तकालयको मुखपत्र ‘पूजा’ मा प्रकाशित गरियो । त्यसलाई जीवनचन्द्र कोइरालाले बीपी कोइरालाका छरिएका सामग्री (२०५८) मा संकलन गरेका छन् ।)

 

 

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम