Logo

‘यदि हाम्रो विरुद्वमा संसद्मा बहुमत पुग्यो भयो भने हामी तत्काल सरकार छोडेर विपक्षमा बस्न तयार छौँ’ : विशाल भट्टराई (भिडिओसहित)



नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वर्तमान सरकारले ईतिहासमा कसैले गर्न नसकेका राम्रा काम गरेको दाबी गरेका छन् । तर, सरकारले गरेका राम्रा कामको बारेमा विरोधीहरुले जहिल्यै पनि विरोध र आलोचना गर्ने गरेको दुःखेसो पोखे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले आफूहरु ठूलो पार्टी भएकै कारण सरकारको नेतृत्व गरेको पनि दाबी गरे । उनले एमाले सधैं सत्ताको पछि लागेको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले भने–‘यो भनेको ईतिहाँसमा देखिएका सबै तथ्यहरुको खण्डनमात्रै होईन, यो ईतिहाँसमाथिको चुनौती हो । यो ईतिहासले यो बताउदैन् । ईतिहासमा सबैभन्दा धेरै प्रतिपक्षको कुर्सीमा बसेको कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो । हामीलाई जनताले भोट दिँदाखेरि त सरकारमा बस्नु एउटा कुरा हो । तर, हामीले चाहेर पनि सरकारमा जान खोजेको कहिल्यै पनि छैन । अहिले त सबैभन्दा ठुलो पार्टी त एमाले नै त हो नि । १२१ सिट ल्याएको छ । अब एमालेले सरकारमा बस्न नखोजेर कस्ले खोज्छ त ? यदि हाम्रोविरुद्धमा संसद्मा बहुमत भयो भने तत्काल सरकार छोडेर हामी विपक्षमा बस्न तयार छौँ । धेरैपटक विपक्षमा बसेर जनताको काम गरेर हामीहरुले फेरि चुनाव जितेका पनि छौँ नि त ।’ प्रस्तुत छ नेता भट्टराईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

देशमा महामारीमा छ, जनताहरु उपचार नपाएर मरिरहेका छन्, अनित तपाईँहरुलाई सत्ता प्यारो भयो है ?

जसले सरकार खोजिरहनुभएको छ, जसले सरकारमा जानको लागि प्रयास गरिरहनुभएको छ । अनेक किसिमका गठबन्धन निर्माण गर्दै हुनुहुन्छ । उहाँहरुलाई सोध्नुपर्यो । अहिले हामीहरुलाई हटाउन खोजेको कारणले, जसले हटाउन खोज्दैछ उहाँहरुला पो तपाँईले भन्ने हो त ।

अहिले प्रधानमन्त्रीले किन विश्वासको मत लिन खोज्नुभएको त ?

विश्वासको मत किन लिनुपर्यो भनेदेखि विगतमा हामी जुन दलसंग गठबन्धन गरेर चुनावमा हुमिएका थियौँ । त्यो गठबन्धनलाई बहुमत प्राप्त भयो तर सिंगल रूपमा नेकपा (एमाले) लाई बहुमत प्राप्त नभएको हुनाले हामी अल्पमतको सरकार संसदमा हामी सधै चलाउन सक्दैन थियौँ । बजेट पास गर्नुपर्यो । नीति तथा कार्यक्रम पास गर्नुपर्यो । विधेयकहरु पास गर्नुपयो, हाम्रो १२१ सिट संख्याले त त्यो पास हुनसक्ने स्थिति थिएन । त्यही भएर अस्तिको अधिवेशनमा पनि हामीले खास विधेयक ल्याउन सकेनौँ । कसको के पोजिसन हो ? र को कहाँ उभिन्छ ? भन्ने कुराको अनिश्चयमा हामीले तिनी विद्येयकहरु लान मिल्दैन थियो त्यसैले कुनै न कुनै दिनमा हामीले संसदमा बहुमत निर्माण गर्नका लागि कसनै न कुनै प्रस्ताव त लानैपर्छ नि त । हामीसंग बाध्यता पनि छन् ।

अहिलेको अवस्थामा जनताको जीवनको ख्याल गर्ने बेला होईन र ? तपार्इँहरुलाई अहिले एमाले कसरी जोगाउने र सरकार कसरी जोगाउने भन्ने चिन्तामात्रै देखियो नि ?

कोभिडको बारेमा हामीले ध्यान दिएका छैनौँ भन्ने कुरा विल्कुलै गलत हो । सरकारले आफ्नो क्षमताले भ्याएसम्म कोभिड नियन्त्रणका लागि र जनताको जीवनका लागि हरसम्भव प्रयासहरु गरेको छ । हिजो कोभिड सुरुमा हामीकहाँ देखापर्दाखेरि जुन खालको अवस्था थियो । एउटा पिसिआर टेस्ट गर्नको लागि स्वाब हङकङ लानुपरेको थियो । अहिले तत्काल मुलुकका एक सयभन्दा बढि ठाउँमा हामी बीसौं हजार चेक गर्नसक्ने भएका छौँ । अहिले हामीहरुले धेरै व्यापक मात्रामा सुधार गयौँ । ठुला ठूला राष्ट्रहरु पनि यो कोभिड नियन्त्रणमा असफल भईरहेका बेला सरकारले ध्यान नदिएको भन्ने कुरा होईन, हामीहरुले गरेका सारा गतिविधिहरु अनिमात्र थाहा हुन्छ ।

होईन, जनताले परीणाम खोजेका छन नि ? गफ र भाषण त खोजेका छैनन् नि ?

उपचारकै कुरा मैले तपाईँलाइ बताईरहेको छु । हाम्रो देशको जनसंख्या, आर्थिक अवस्था अहिले हामी जुन अवस्थामा बाँचिरहेका छौँ, यो अवस्थामा सरकारले गर्नसक्ने प्रयासहरु हरसम्भव गरको छ । र, खाली सत्ताका लागि हुने गरेका बैठकले त्यसलाई कुनैपनि प्रभाव नपर्नेगरी हामीले सिसिएमसी निर्माण गरेर व्यापक रूपमा अभियान चलाएका छौं । त्यसैले सरकारले काम गरेको छैन भन्ने होईन । देशमा एउटा सरकार हुँदाहुँदै अहिले राजनीतिक रूपमा अहिले जुन अस्थिरता निम्त्याउन खोजियो र अर्को सरकार निर्माण गर्न खोजियो, यो गलत काम हो । सरकार बनाउनकै लागि अहिले विभिन्न बैठकहरु भएका छन् । देशी÷विदेशी चलखेलहरु भए हाम्रो विरूद्धको गठबन्धन निर्माण गर्ने कोशिसहरु भएका छन् । त्यसका लागि त प्रतिरक्षा गर्नुपर्यो नि त । नत्र बहुमत नपुगेर त कसैको पनि सरकार बन्दैन् ।

प्रधानमन्त्रीको पक्षमा बहुमत पुगेन नि ? तपाईँहरुलाई बहुमत पुर्याउनको लागि हम्मे हम्मे परेका छ, अब प्रधानमन्त्रीले के गर्नुहुन्छ ? राजीनामा दिनुहुन्छ कि ?

हामीहरुले पटक–पटक भन्दै आएका छौँ कि वर्तमान सरकारले इतिहासमा धेरै कामहरु अगाडि बढाएको छ । गुमेको भूमिलाई फिर्ता ल्याउनको लागि नेपालको नयाँ नक्सामा नक्साङकित गरेर नक्सा जारी गर्ने काम भएको छ । त्यस्तै, अहिले थुप्रै विकास निर्माण र भौतिक पूर्वाधारका काम अघि बढेका छन् । त्यस्तै, सामाजिक र मानवीय संशाधनको क्षेत्रमा पनि सरकारले व्यापक रुपमा काम गरेको छ । तर, त्यति गर्दागर्दै पनि हामीसंग त एकल बहुमत त थिएन । अरु कसैले हाम्रो विरुद्धमा बहुमत निर्माण गर्दा त हामीले सरकारमा बसिरहने कुरा हुँदैन् । त्यसैले गर्दा यदि उहाँहरुको बहुमत बन्यो भने त हामी जहिले पनि प्रतिपक्षमा बस्न तयार छौँ भनेकै छौँ । नेकपा एमाले ईतिहाँसमा सबैभन्दा बढि प्रतिपक्षमा बसेको पाटी होईन भन्या ? यो कुरा त तपाईँ÷हामी सबैलाई थाहा छ नि त ।

तर, नेपामा त ‘पानीबिनाको माछा र सत्ताबिनको एमाले’को परिकल्पना भनेर सबैले भनेका छन् नि ? के भन्नुहुन्छ ?

यो भनेको ईतिहाँसमा देखिएका सबै तथ्यहरुको खण्डनमात्रै होईन, यो ईतिहाँसमाथिको चुनौती हो । यो ईतिहासले यो बताउदैन् । ईतिहासमा सबैभन्दा धेरै प्रतिपक्षको कुर्सीमा बसेको कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो । हामीलाई जनताले भोट दिँदाखेरि त सरकारमा बस्नु एउटा कुरा हो । तर, हामीले चाहेर पनि सरकारमा जान खोजेको कहिल्यै पनि छैन । अहिले त सबैभन्दा ठुलो पार्टी त एमाले नै त हो नि । १२१ सिट ल्याएको छ । अब एमालेले सरकारमा बस्न नखोजेर कस्ले खोज्छ त ? यदि हाम्रोविरुद्धमा संसद्मा बहुमत भयो भने तत्काल सरकार छोडेर हामी विपक्षमा बस्न तयार छौँ । धेरैपटक विपक्षमा बसेर जनताको काम गरेर हामीहरुले फेरि चुनाव जितेका पनि छौँ नि त ।

 



प्रतिक्रिया दिनुहोस्