Logo

सिकलसेल उपचार केन्द्र सञ्चालन हुने



बाँके, २५ वैशाख: बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकास्थित मगरागाढी प्राथमिक स्वास्थ्य केन्द्र रहेको आरसी थारू मेमोरियल नगर अस्पतालमा पहिलो सिकलसेल उपचार केन्द्र सञ्चालन हुने भएको छ । आरसी थारू मेमोरियल नगर अस्पताल र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबीच यही वैशाख २० गते सम्झौता भएपछि सिकलसेल उपचार केन्द्र सञ्चालन हुने भएको हो ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तर्फबाट निर्देशक रोशनी लक्ष्मी र बारबर्दियाको आरसी थारू मेमोरियल नगर अस्पतालको तर्फबाट डा रोशन सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस नगर अस्पतालबाट सिकलसेल एनिमिया रोगका बिरामीलाई नेपाल सरकारले प्रदान गरेको सहुलियत तथा औषधि, औषधिजन्य सामग्री, शल्यक्रिया, शय्या र प्रयोगशाला आदि सेवा निःशुल्करूपमा प्रदान गरिने भएको छ ।

बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारूले भने, “अब सिकलसेल उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज र बर्दिया अस्पताल गुलरिया जानुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।” सो केन्द्रको सञ्चालनबाट स्थानीयवासीले गाउँघरमै स्वास्थ्य सुविधा पाउने भएपछि निकै राहतको अनुभव गरेका छन् । बारबर्दिया नगरपालिका–२ जोगीगाउँकी रम्भा थारूले भने, “जिल्लामा सिकलसेल रोगका धेरै बिरामी छन्, उपचार गर्न पहिले नेपालगञ्ज, काठमाडौँ, भारतको लखनऊजस्ता ठूला शहरका अस्पताल जाँदा धेरै दुःख हुन्थ्यो, अब नगरपालिकामा अस्पताल बनेपछि खुशी भएका छौँ ।” नेपाल सरकारले विपन्न नागरिक कोषअन्तर्गत सिकलसेलका रोगीको उपचार गर्दै आएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्