Logo

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी



काठमाडौं, २५ वैशाख । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाटै संविधानमाथि खतरा बढेको टिप्पणी गर्दै महाभियोग लगाउनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायधीश राणा गएमा महाभियोग लगाउनुपर्ने बताएका हुन् ।

‘प्रधानन्यायधीशबाट नै संविधानमाथि खतरा बढेको छ,’ त्रिपाठीले रिपोर्टर्स नेपालसँग भने, ‘भोलि डाकिएको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश गएमा महाभियोग लगाउनुपर्छ । संवैधानिक सर्वोच्चताको वृहत्तर हितका लागि महाभियोग लगाउनुपर्ने अवस्था विद्यमान रहेको बताए । प्रधानन्यायाधीशले असंवैधानिक कार्यलाई टेवा पुग्ने भूमिका खेल्न थालेको उनको आरोप थियो ।

संवैधानिक परिषदको परिकल्पना कार्यपालिकाले एकलौटी ढंगले नियुक्त गर्नका लागि नभएको उनको तर्क थियो । चेक एन्ड ब्यालेन्सका लागि परिषदको कल्पना भएको त्रिपाठीले बताए । विधिको शासन, संविधान र संविधानको सर्वोच्चतामाथि ठाडो आक्रमण हो ।

प्रधानन्यायधीशबाट संविधान र विधिको शासनको सर्वोच्चताको रक्षा हुने अपेक्षा गरिने तर्क गर्दै प्रधानन्यायाधीशले कार्यपालिकालाई एकलौटी गर्न दिएमा गम्भीर संवैधानिक गल्ती हुने बताए । उनले भने, प्रधानन्यायाधीशले न्यायपालिकालाई कार्यपालिकाको अधिनस्थ निकायका रुपमा रुपान्तरण गर्न खोजेको देखिन्छ । उनले भने, ‘भोलि डाकिएको असंवैधानिक संवैधानिक परिषद्को बैठकमा गएमा प्रधानन्यायधीशमाथि न्यायपालिका र संविधानको अभिभावक भएर पनि विश्वासलाई तोडेको ठहरिने समेत बताए ।’

संवैधानिक परिषद्को बैठक डाक्ने र निर्णय लिने सम्बन्धी अध्यादेश असंवैधानिक भएको त्रिपाठीले तर्क गरे । उनले भने, ‘असंवैधानिक अध्यादेशमा टेकेर गरिने संवैधानिक परिषद्को बैठकमा जानु असंवैधानिक हुन्छ ।’ यसअघि प्रधानन्यायाधीश राणाले असंवैधानिक तरिकाले ल्याइएको अध्यादेशका आधारमा राखिएको संवैधानिक परिषद्को बैठकमा सहभागी भएर असंवैधानिक कार्यको मतियार भएको आरोप लगाए ।

सर्वोच्च अदालतमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै त्रिपाठीले फेरि त्यस्तै अध्यादेश ल्याएर बैठक डाक्नुुलाई असंवैधानिक कदम भने ।



प्रतिक्रिया दिनुहोस्