पर्वतीय पर्यटनमा उत्साहः व्यवसायीलाई आवतजावतमा अवरोध


काठमाडौं, बैशाख २६ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । तर, व्यवसायीहरूलाई आवतजावतमा अवरोध भएको छ । सन् २०१९ मा भन्दा संक्रमणको महामारीको समयमा पर्वतारोहीहरू बढी आएका छन् । रोयल्टी संकलन पनि ५० प्रतिशतले बढेको छ । यसबाट उत्साहित व्यवसयाीहरू सरकारी निकायबीच समन्वय नहुँदा सास्ती खेप्न बाध्य भएका हुन् ।

पर्यटन विभागबाट सम्बद्ध एजेन्सीहरू तथा व्यवसायीहरूले नेपाल आउने पर्यटकलाई विमानस्थलदेखि होटेल तथा अन्य गन्तव्यसम्म पुर्‍याउन आवतजावत गर्न पास पाएका हुन्छन् । व्यवसायीसँग सम्बद्ध एजेन्सीका प्रतिनिधिहरू विमानस्थल वा अन्य कुनै स्थानसम्म जाँदा उक्त सवारीमा पर्यटक हुँदैनन् र अर्कोतर्फ गन्तव्यमा पुर्‍याएर फर्किंदासमेत उनीहरूसँग पर्यटक साथमा हुँदैनन् ।

यति नै बेला प्रशासनले विभागको उक्त पासलाई मान्यता नदिई प्रतिनिधिहरूलाई विभिन्न स्थानमा दिनभर तथा घण्टौंसम्म नै रोकेर राख्ने गर्दा सास्ती खेप्न बाध्य भएको व्यवसायीले बताएका हुन् ।

पर्वतारोहण व्यवसायीहरूको छाता संगठन एक्सपिडिसन अपरेटर एशोसिएशन (ईओए) नेपालका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई लिन जाने समयमा एजेन्सीका सवारी र प्रतिनिधिहरूलाई रोक्दा उनीहरू समयमै नपुगेको र पर्यटक अलमलमै पर्ने गरेको बताउँछन् । ‘यसले गर्दा अहिले पर्यटक र विश्वसामु नै हामीमाथिको विश्वास गुम्न सक्नेसम्मको खतरा बढेको छ,’ पराजुलीले भने, ‘पर्यटक बोकेर गन्तव्य तथा होटेलसम्म पुर्‍याउँदा समस्या छैन तर उनीहरूलाई लिन जाँदा र पुर्‍याएर फर्किएका प्रतिनिधिहरूलाई अत्यधिक सास्ती दिइएको छ ।’

उनका अनुसार अहिले आरोहणका लागि अनुमति पाएकामध्ये हालसम्म ७५० जति पर्वतारोही नेपाल आएका छन् । मन्त्रालय र विभागले पास उपलब्ध गराएका हुन्छन्, त्यसलाई देखाएर आवतजावत गर्नका लागि प्रशासन कार्यालयबाट सहजीकरण नभएको उनको गुनासो छ । अहिलेको जटिल अवस्थामा सन् २०१९ को यही सिजनमा भन्दा ५० प्रतिशत बढी रोयल्टी संकलन भएको छ । तर, पर्यटनलाई चलायमान बनाउन लागिपरेका व्यवसायी तथा एजेन्सीहरूलाई सरकारी निकायबाट कुनै खालको सहयोग नभएको पराजुलीले आरोप लगाए ।

अहिले सिंगो पर्यटन क्षेत्र थलिँदा पर्वतीय पर्यटनमा आशा देखिएको छ । व्यवसायीहरू जटिल अवस्थाका बीच पर्वतारोहण गराउन लागिपरेकाले उनीहरूलाई निरुत्साहित नबनाउन आग्रह गरिएको छ । आर्थिक अभियान दैनिकबाट