Logo

अक्सिजन उत्पादन उद्योगलाई विद्युत् समस्या



दाङ, बैशाख २६ । दाङका अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला सञ्चालन भइरहेको अक्सिजन उद्योगले विद्युत् समस्याका कारण क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेको छैन ।

घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रहेको दाङ अक्सिजन प्रालिले विद्युत् अनियमितताकै कारण क्षमताभन्दा कम अक्सिजन उत्पादन गर्दै आएको छ ।उद्योगको प्रतिदिन २०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि विद्युत् अनियमितताका कारण हाल दैनिक १५० सिलिन्डर मात्रै उत्पादन गर्दै आएको उद्योगका म्यानेजर भरत पौडेलले बताए ।

‘विद्युत् नै अनियमित छ । विद्युत्कै समस्याका कारण क्षमताभन्दा कम मात्रै अक्सिजन उत्पादन गर्न बाध्य छौं’, उनले भने, ‘उद्योगलाई नियमित विद्युत् भए मात्रै पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्था छ ।’

दिनप्रतिदिन जिल्लाका कोरोना संक्रमितका जटिल बिरामी बढ्दै जाँदा यहाँ सञ्चालित कोरोना अस्पतालमा अक्सिजने अभाव हुँदै आएको छ । केही दिनअघि मात्रै बेल्झुन्डीस्थित प्रदेश स्तरीय कोरोना विशेष अस्पतालमा अक्सिजन अभावकै कारण एक जना संक्रमितको ज्यान गएको थियो ।

उक्त उद्योग करिब पाँच वर्ष पहिले झन्डै ५ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको हो । अहिले पनि आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन नसकेको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । जिल्लाको उत्पादनले नभ्याएपछि अहिले नेपालगञ्जबाट अक्सिजन ल्याएर बिरामीको उपचार गरिँदै आएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्