Logo

अझै फेला परेन फरार ट्र्याक्टर चालक



सर्लाही, २६ वैशाख: गत कात्तिक १० गते राति करीब ८ः३० बजे नवलपर–मलङ्गवा सडकखण्डमा नवलपुर चौकभन्दा करीब ७०० मिटर दक्षिण एउटा नम्बर नखुलेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दियो । लालबन्दी नगरपालिका–२ स्थित नवलपुर चौकभन्दा करीब ७०० मिटर दक्षिण नवलपर–मलङ्गवा सडकखण्डमा नम्बर नखुलेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर उक्त ट्र्याक्टर फरार भयो ।

मोटरसाइकलमा सवार लालबन्दी–२ बस्ने अन्दाजी १८ वर्षीय अङ्कुश पासवानको मृत्यु भयो । घटनापश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले दुर्घटना गराउने ट्र्याक्टरको खोजतलास शुरु ग¥यो । खोजतलास गर्दै जाँदा प्रहरीले दुर्घटनामा संलग्न नै नभएको लालबन्दी –२ का नेपाली सेनाका अवकाश प्राप्त सुवेदार थीरबहादुर खड्काको रातो रङको ट्र्याक्टर उनको घरैबाट नियन्त्रणमा लियो ।

मृतक पासवानको घरपरिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्र्याक्टरको रङ नीलो भएको र नं नखुलेको बयान दिएको भए पनि उक्त ट्र्याक्टरका चालक फरार भएकाले दुर्घटनामा संलग्न नै नभएको रातो रङको ट्र्याक्टरका धनि खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखायो । खड्काको ट्र्याक्टरले दुर्घटना नगराएको भए पनि खड्कालाई गत माघ १५ देखि फागुन ७ गतेसम्म प्रहरीले सिन्धुली कारागारमा राख्यो ।

गत फागुन ७ गते रु डेढ लाख धरौटी बुझाएर जेलमुक्त भएका खड्का फरार ट्र्याक्टर चालकको खोजी गरी सजाय दिन र अहिले पनि निर्दोष हुँदाहुँदै कारागारमा बसेर कैदीजीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी–२ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको ट्र्याक्टर र ट्र्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन हारगुहार गरिरहेका छन् । आफ्नो ट्र्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरुसमेत प्रहरीलाई बुझाइसकेको भए पनि हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र यो विषय आफ्नो निकायबाट अदालतमा गइसकेकाले अदालतमै जान भन्दै आएको पीडित ट्र्याक्टर धनि खड्काले बताए ।

अरूले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएपछि अदालतीय प्रक्रियामार्फत भए पनि वास्तविकता बाहिर ल्याउने पक्षमा आफूहरु रहेको उनले बताए । एक निर्दोष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन तथा न्यायालयको आश्रय खोजी रहेका छन् भने दुर्घटना गराउने ट्र्याक्टर कुन हो र कहाँ छ भन्ने विषयमा प्रहरीले थप खोजी कार्य गरेको छैन । प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का, माथिल्लो निकायलाई पठाएको टिपोट, रेफर गरी पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केर मेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैँ रहेको र सोही निर्दाेष ट्र्याक्टरलाई कार्वाहीको भागेदार बनाउने पक्षमा रहेको देखिन्छ ।

दुर्घटनामा संग्लग्न सवारी साधनका सहचालकले सबै विवरण बताउनु, उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु, पीडितले खड्कासँग क्षतिपूर्तिको माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का, माथिल्लो निकायबाट आएको पत्रलगायत कागजातमा केरमेट गरिएको बताइएको छ । यसले प्रहरी र दुर्घटनामा संलग्न सवारी साधनका साहु विनय बीचको मिलेमतो रहेको आशङ्का पीडित पक्षले समेत गर्न थालेका छन् भने दुर्घटनामा संग्लग्न सवारी साधन त्यहीँ रहेको प्रहरीको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्