Logo

जसपाको फुट यसरी टर्यो



काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीको फुट टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने या नदिनेमा विभाजित भएको जसपा अन्तिम समयमा सांसदहरुलाई विश्वासको मतको पक्ष या विपक्षमा मत दिन छुट दिएर लचिलो भएर फुटबाट जोगिएको हो ।

ओलीको पक्षमा उभिएका जसपा अध्यक्ष महन्थ ठाकुरले तटस्थ बस्ने निर्णय लिए । बालुवाटार पुगेर ठाकुरले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । त्यसअघि उनी बुढानिलकण्ठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । उनले देउवालाई पनि साथ नदिने संकेत गरे ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवका अलावा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतोले सहमति विकास गरेर विभाजनको सबै ढोका बन्द गर्ने सफलता हासिल गरे । उनीहरुले भोलि ओलीको पक्ष विपक्षमा विभाजित नहुने र भएमा पनि सांसदहरुलाई स्वतन्त्र अधिकार दिने निर्णय लिए ।

ओलीले भोलि विश्वासको मत लिन नसकेमा जसपा निर्णायक शक्ति बन्ने वातावरण बन्छ । यसलाई मध्यनजर गरेर पनि जसपा एकतावद्ध हुने गरी नेताहरुले सहमति विकास गरे ।

देउवाले जसपाको एउटा पक्षको साथ लिन खोज्दा फुटको सम्भावना बढेको थियो । त्यो तत्काललाई टरेको छ । जसपा आफै एकतावद्ध भई बार्गेनिङ शक्ति बढाउने रणनीतिमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot