Logo

‘पर्यटन क्षेत्रमा सरकारले अविलम्ब राहत प्याकेज ल्याउनुपर्छ’



रामप्रसाद बञ्जारा : काठमाडौं, २६ बैशाख । मुलुक यतिवेला कोरोना महाव्याधीसँग जुधिरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा सरकारले पूर्ण तथा आंशिक निषेधाज्ञा लागु गरेको छ । कोरोना संक्रमणको उच्च जोखिममा नेपाल परिसकेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित थपिएका छन् । त्यस्तै, दैनिक ५० भन्दा बढिले ज्यान गुमाएका समाचार छन् । आजमात्रै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ५२ जनाले मृत्युवरण गर्नुपरेको समाचार छ । यो अत्यन्तै दुःखद् र दर्दनाक अवस्था हो ।

संक्रमणबाट जोगिनको लागि सरकारले जारी गरेका मापदण्ड सबैले पालना गर्नुको विकल्प छैन् । यो सँगै सरकारले निषेधाज्ञाको मारमा परेका अति प्रभावित क्षेत्रहरुको निर्धारण गर्न जरुरी छ । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र अत्यन्तै नराम्ररी प्रभावित भएको अवस्था छ । यसतर्फ सरकारले पर्याप्त ध्यान पुर्यायोस ।

यसअघि पनि झण्डै झण्डै एक वर्ष पर्यटन क्षेत्र ठप्पको अवस्थामा थियो । त्यसले मुलुकले खर्बौंको घाटा व्यहोर्नुपरेको छ। साथै, लाखौंलाई रोजगारी सिर्जना गर्दै आएको यो क्षेत्र उठ्नै नसक्नेगरि धराशयी बनेको छ । सरकारले तत्काल पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्नुपर्छ । देशका यो क्षेत्रका दिग्गज व्यक्तिहरुले पनि यस विषयमा आवाज उठाउनुभएको छ । सरकारको यसमा यथाशक्य चाँडो ध्यान जानुपर्छ ।

मुलुकको अर्थतन्त्रको बलियो आधारको रुपमा रहेको पर्यटन क्षेत्रको अहिलेको अवस्थालाई राज्यले नजरअन्दाज गर्न मिल्दैन् । सरोकारवाला निकायका प्रतिनिधिहरुसँग सरकारले खासगरी अर्थमन्त्री विष्णु पौडेलले छलफल गर्नुपर्छ । आज यो क्षेत्रका हजारौं व्यवसायीहरु उठ्नै नसक्नेगरि थलिएका छन् । हामीजस्तो देशमै रोजगारी सिर्जना गरौं र आत्मनिर्भरताको बाटोमा हिँडौं भन्ने युवाहरु त उसैपनि निराश छौं नै ।

तर, समग्रमा यो क्षेत्रलाई पूनः उठाउन सकिने कुरामा राज्यको ध्यान जानुपर्छ । कतिपय व्यवसायीहरु त यो क्षेत्रबाट पलायन हुने क्रम बढेको तथ्यांकले देखाएको छ । यो देशको लागि अत्यन्तै दुःखद् अवस्था हो । लाखौं मजदुरहरु अहिले कामविहीन भएका छन् । उनीहरुको रोजीरोटीको सवाल छ । राज्यले यस्तै संकटको बेलामा त हो नि आफ्नो उपस्थिति देखाउने । अनि चिन्ता नगर हामी छौं भनेर आड र भरोसा दिलाउने । तर, आज यत्तिका दिन भैसक्यो, सरकारले समग्र मुलुकको अर्थतन्त्रलाई जोगाउने र धराशयी बनेका पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रलाई पूनर्जीवन दिन खासै चासो देखाएको मैले चाहीँ महशुस गरेको छैन् ।

हाम्रा माग र मुद्दाको मात्रै कुरा हामीले गरेका छैनौं । त्यतातिर ठोस कदम सरकारले पक्कैपनि चाल्ला । हामी पखाईमा छौं । तर, सुरुमा राज्यको दायित्व भनेको आफ्नो नागरिकको ज्यान बचाउनु हो । त्यसको लागि सबैसँग हातेमालो गरोस् । स्वास्थ्योपचारको राम्रो प्रवन्ध गरोस । सबै नागरिकलाई खोपको पनि व्यवस्था गरोस् । उपचार नै नपाएर नागरिकले ज्यान गुमाउनु परेका खबरहरु आईरहेका छन् । सरकारले सबै दलसँग सहकार्य गरेर कोरोनाविरुद्ध लड्न ढिलाई गर्न पनि हुँदैन् । संकटको घडीमा सबैको साथ र विश्वास लिएर अघि बढ्नु नै बुद्धिमतापूर्ण कदम हुन्छ ।

लेखक हिमालय ल्याण्ड ट्रेक्स एण्ड एक्सपेडिसनका प्रवन्धक हुन् । 

 



प्रतिक्रिया दिनुहोस्