Logo

ओली अडानबाट पछि हटेनन्, एमाले फुट्ने निश्चितप्रायः



काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सहमतिका लागि वार्ताका लागि तयार नभएपछि पार्टी फुट्ने निश्चितप्रायः भएको छ । सहमतिका लागि एमालेका दुवै पक्षका नेताहरु खटिएपनि ओली अडानबाट पछि हट्न नमानेपछि फुट निश्चितप्रायः भएको हो ।

माधव नेपालले राखेको २ जेठ २०७५ को अवस्थामा एमालेको संगठनलाई फर्काउने प्रस्तावमा ओली टसमस भएनन् । उनले उल्टै नेपाल समूहका सांसदहरुलाई सामूहिक राजीनामा गरेर राजनीतिक भविष्य नै बिगारेर अपराध कर्म गर्न खोजेको आरोप लगाएका छन् । अगाडि बढिसकेकाले पछाडि नफर्कने ओलीले जवाफ दिएपछि सहमति बन्न सकेन ।

यसअघि ओली समूहका सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र नेपाल समूहका योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण बिष्ट सहमतिका लागि निकै खटिएपनि कुरा मिल्न सकेन । नेपाल समूहलाई हिजो सामूहिक राजीनामाका लागि रोकेपनि आज ९ बजेको अल्टिमेटम सकिएको छ । अब नेपाल समूहले सामूहिक राजीनामा दिने सम्भावना बढेको छ । सामूहिक राजीनामाका लागि प्रत्यक्षतर्फ २१ सांसद तयार भएका छन् ।



प्रतिक्रिया दिनुहोस्