Logo

निजी अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार



वाग्मती, २७ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो ।

जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार ती दुबै निजी क्षेत्रबाट सञ्चालित अस्पताललाई तत्कालका लागि कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

हाल हेटौँडा अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार हुँदै आएको छ । हेटौँडा अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले उपचारका लागि शय्या अभाव हुन सक्ने भएकाले आवश्यकता महशुस गरी निजी अस्पतालमा समेत कोभिडका बिरामी उपचार गर्ने गरी व्यवस्था मिलाइएको हो ।

मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिकामा गौरीटार आइसोलेसनमा अक्सिजन र मेडिकल टोलीसहित १२० शय्या रहेको छ । यसैगरी जिल्लाका सबै पालिकामा न्यूनतम् १० देखि अधिकतम २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० पालिका रहेका छन् । मकवानपुरका दशवटै स्थानीय तहको पहलमा कोभिड­१९ भाइरसको पिसिआर परीक्षणको दायरा बढाउने तयारी गरिएको छ ।

मकवानपुरको कोभिड सङ्क्रमित तथा मृत्य र सङ्क्रमण मुक्त भएको तथ्याङ्कबारे सूचना एकद्धार प्रणालीमा दिनलाई आवश्यक समन्वय गर्न सबै निकायमा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot