Logo

हेटौंडा अस्पतालका डा. श्रेष्ठद्वारा राजीनामा



वाग्मती, २७ वैशाख: वाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु। ) डा प्रवीण श्रेष्ठले आफ्नो पदमा राजीनामा दिएका छन् । आफूलाई आफ्नो पदीय जिम्मेवारीअनुसार काम गर्न असहज भएको भन्दै उनले वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेललाई राजीनामा पत्र बुझाएका हुन् ।

मन्त्रालयका सचिव ढुङ्गेलले हेटौंडा अस्पतालका मेसु श्रेष्ठको राजीनामा दिएको पुष्टि गरे । मेसु श्रेष्ठको नियुक्ति सङ्घीय सरकारबाट भएकाले उनको राजीनामालाई सङ्घीय स्वास्थ्य मन्त्रालयमा पठाइएको जानकारी दिए ।

विगतमा सङ्घीय सरकारअन्तर्गत रहेको हेटौंडा अस्पताललाई सङ्घले वाग्मती प्रदेश सरकारलाई अस्पतालको जिम्मेवारी केही समयअघि हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।

मेसु श्रेष्ठले हेटौँडा अस्पताल विकास समितिको खातामा भएको रकम प्रतिष्ठानअन्तर्गतको अस्पताल विकास समितिको खातामा जम्मा गर्न नसक्ने भन्दै राजीनामा दिएको बताएका हुन् । उनले आफूलाई काम गर्न जोखिम बढ्ने भएकाले मेसु पदबाट राजीनामा दिएको दाबी गरे । प्रतिष्ठानले आफूलाई अस्पताल विकास समितिको रकम झिकेर प्रतिष्ठानकै अस्पताल विकास समितिको खातामा जम्मा गर्न र अस्पतालको लोगो परिवर्तन गर्न भनेपछि आफूले त्यसो गर्न नसक्ने भएकाले मेसुको जिम्मेवारीबाट राजीनामा दिनुपरेको उनको भनाइ छ ।

यसअघि अस्पताल विकास समितिको खातामा मेसु र लेखापालको हस्ताक्षर चल्ने गरेको थियो । गएको चैत्र २७ गते अस्पतालको बोर्डले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति, रजिष्ट्रार र लेखापालको हस्ताक्षर चल्ने निर्णय गरेको उनको भनाइ छ । प्रतिष्ठानको सोही निर्णयको आधारमा उनीहरुलाई नै झिक्न सुझाव दिएको भन्दै आफूले सो रकम झिक्न नमिल्ने बताएको डा. श्रेष्ठले जानकारी दिए । अहिले अस्पताल विकास समितिको खातामा करीब एक करोड रुपैयाँ छ भने स्वास्थ्य बिमा बोर्डबाट साढे चार करोड रुपैयाँ आउन बाँकी छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्