Logo

प्रदेश २ का प्राविधिक कमान्डर



सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई यसपालिको लकडाउनले पटक्कै छोएको छैन । प्रदेश २ सरकारका तर्फबाट जनकपुरधाम उपमहागरपालिका–१४, मुजेलियामा उपयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई १५ दिनभित्र २० आईसीयूसहित एक सय शय्याको कोभिड विशेष अस्पताल बनाउने ‘महामिसन’ छ उनको । द्रुत गतिको खरिद प्रक्रिया अपनाएर साइटको तयारीमा लागेका उनलाई साँच्चै भन्ने हो भने एक सेकेन्ड पनि फुर्सद छैन ।सीडीई झा प्रदेश २ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको महत्त्वपूर्ण इकाइ जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुखका साथै मुख्यमन्त्रीका प्रमुख प्राविधिक सल्लाहकारका रुपमा कार्यरत छन् । कारोना संक्रमण तीव्र गतिमा फैलिए पनि उनी भगवान् पशुपतिनाथ र माता जानकीलाई सम्झँदै निरन्तर ड्युटीमै छन् । मणिपालको कम्पाउन्डमा ‘लेबर क्याप’ लगाई इमर्जेन्सी निर्माण सामग्री जोहो गरी दिनरात दुई सिफ्टमा काम गरिरहेका छन् ।चार दशकको इन्जिनियरिङ करिअरमा उनले कति भवन बनाए,, कति सिँचाइ बनाए,, कति विकासका योजना बनाए, तर अहिलेका लागि उनलाई यो आइसोलेसन अस्पताल जिन्दगीकै सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारी हो । उनका लागि जनताको ज्यानभन्दा ठूलो केही छैन । सबैको साथ लिएर तोकिएको भौतिक संरचना यथासमयमै पूरा गर्ने उनको दृढ अठोट छ ।प्रदेश २ को मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक समेत रहेका झा प्रदेशका धार्मिक, सांस्कृतिक, एवं ऐतिहासिक महत्त्व बोकेका स्थानको पर्यटन विकासमा पनि उत्तिकै लागिपरेका छन् । यस अन्तर्गत ४० वटा योजनाको सुरुआत पनि गरेका छन् । ब्रह्मस्थान पोखरी, सुब्बाजी पोखरी, रौजा मजार सरीफ, इशरा पोखरी, लक्ष्मी सागर विद्यापति पोखरी आदिको सौन्दर्यीकरण भइरहेको छ ।धनुषाको साविक लोहना वभनगामा (हाल जनकपुर उपमहानगरपालिका वडा नं २५) मा २०२० मा जन्मेका हुन् झा । उनका पिता उदयकान्त पुनर्वास विभागका कर्मचारी थिए । बाजे पण्डित विष्णुकान्त झा बनारसमा पढेर फर्केका संस्कृतका उद्भट विद्वान् थिए ।उनका बाजेले आफ्ना पिताका नाममा ३२ बिघा जग्गादान गरेर गाउँमै खोलेका थिए, कंटीर झा नमुना मावि । यति मात्र होइन, उनको परिवारले जानकी मन्दिरलाई १० बिघा जग्गादान गरेको थियो ।उनी केमा धन्य छन् भने खातापिता जमिनदार घरानामा जन्मन पाए । सात वटा गाउँ त मौजा नै थियो झा परिवारको । उनीहरुकै परिवार राजनीति, साहित्य र समाजसेवामा क्रियाशील थियो । परिवारकै प्रतिष्ठाका कारण गाउँको नामकरण वभनगामा (ब्राह्मण गाउँ) भएको थियो ।उनका अर्का बाजे रमाकान्त झा नेपाली कांग्रेसका धनुषा–महोत्तरीका संस्थापक सभापति थिए । उनको घरमा बीपी, मातृकाप्रसाद कोइरालाको आउजाउ चलिरहन्थ्यो । काका दिगम्बर झा बडाहाकिम र अञ्चलाधीश भए । अर्का काका सुन्दर झा शास्त्रीले मैथिली साहित्यमा ‘फूलपात’ जस्तो कृति रचना गरेका रहेछन् ।आफ्नै बाजेले खोलेको स्कुलबाट २०३६ सालमा एलएलसी गरे झाले । उनी सानैदेखि मेधावी थिए । कक्षा १ देखि कक्षा १० सम्म स्कुल प्रथम हुन्थे, एसएलसीमा जिल्ला प्रथम भए । तिनताका तराईका धनीमानी जमिनदार परिवारमा इन्जिनियरिङ पढ्ने होडबाजी जस्तै थियो । उनलाई नै परिवारले त्यही बाटोमा प्रेरित गर्यो ।जिल्ला प्रथम भएबापत प्राप्त मासिक २०० रुपैयाँ छात्रवृत्तिबाटै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा डिप्लोमा (ओभरसियर) पढे । २०३९ मा पढाइ सकिनासाथ जागिरे जीवन सुरु भैहाल्यो । उनी दोलखाको चरिकोट जाने बाटोको हाकिम भए । त्यो बाटो उद्घाटनका लागि तत्कालीन रानी ऐश्वर्य गएकी थिइन् । त्यसपछि उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको ठोकर्पा पुगे । त्यसपछि उनले धनुषा, महोत्तरीलगायत जिल्लामा काम गरे । धेरैजसो समय भने काठमाडौंमै बसे ।एक समय उनी जागिरमै एकोहोरिए । काठमाडौँ बसाइपछि बल्ल शैक्षिक डिग्रीमा ध्यान दिन पाए । लामो अन्तरालपछि उनले नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरे । त्यहीँबाट कन्स्ट्रक्सन इन्जिनियरिङमा मास्टर्स डिग्री लिए ।त्यसो त उनले पहिल्यै बीई पढ्ने अवसर नपाएका भने होइनन् । उनी नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (नेराविफे) मा संगठित थिए । वामपन्थी नेताहरु विष्णुबहादुर मानन्धर, केशरजंग रायमाझीसँग हिमचिम थियो । नेताहरुले तत्कालीन सोभियत संघमा पढ्न जाने ‘अफर’ गरेका पनि हुन् । तर, घरको जेठो छोरालाई परिवारले टाढाको मुलुक पठाउनै चाहेन । उनका एक भाइ र दुई बहिनी छन् । ‘कलेजमा उपेन्द्र महतोहरु मेरो जुनियर थिए,’ उनी भन्छन्, ‘त्यतिबेला सोभियत संघ जान पाएको भए म यतिबेला सचिवबाट रिटायर्ड भइसकेको हुन्थें ।’जागिरका क्रममा उनले दर्जनौं सिँचाइ आयोजना र ब्यारेज निर्माण सम्पन्न गरे । यस क्रममा २०५४ मा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सल्लाहकारका रुपमा पनि काम गरे । परिवारको सदस्य एवं सहयोगीजस्तो भएर सँगसँगै देश र विदेशको यात्रा गरे । चार पटक सत्ताको बागडोर सम्हालेका ‘मिस्टर क्लिन’ का रुपमा चिनिने चन्दसँगका सहयात्रा उनी कहिल्यै भुल्दैनन् ।त्यसो त उनी जागिरमा मात्र बसेनन्, सँगसँगै समाजसेवामा पनि पाइला राखे । २२ वर्ष अगावै उनले काठमाडौंमा खोले, मैथिल ब्राह्मण महासभा । २६ जिल्लामा यसको संगठन छ । उनी त्यसका संस्थापक अध्यक्ष हुन् । संस्थाले ब्राह्मण वटुकहरुको व्रतवन्ध, विवाह आदि सामूहिक संस्कार मात्र नभएर कर्मकाण्ड प्रशिक्षण समेत गर्दै आएको छ ।यस क्रममा झन्डै २ हजार वटुकको सबै विधि विधान पालना गरी उपनयन संस्कार गरिसकेको उनको भनाइ छ । यसको एकमात्र कारण हो, धर्म, संस्कृतिको संरक्षण अनि खर्चिलो संस्कारमा न्यूनीकरण । यसका साथै उनी नेपाल–भारत मैत्री समाज र इस्कोन नेपालसँग पनि सम्बन्धित छन् ।समाजसेवामा संलग्न भएबापत उनले सन् २०१७ मा उनले इन्टरनेसनल अवार्ड पनि पाए । राष्ट्रपति डाक्टर रामवरण यादव र भारतीय राजदूत मन्जिपसिंह सुरीका हातबाट एसिया प्यासिफिक एक्सिलेन्स अवार्ड पाउँदाको क्षण उनी विशेष मान्छन् ।व्यावसायिक संगठनमा उनको लगाव यथावत् छ । उनी राष्ट्रिय इन्जिनियर संघ र तराई इन्जिनियर एसोसिएसनका पनि अध्यक्ष हुन् । गत वैशाख २४ गते हुने भनिएको नेपाल इन्जिनियरिङ एसोसियसनको प्रदेश २ का सभापतिका लागि उनले बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनबका तर्फबाट उम्मेदवारी दिएका थिए । लकडाउनका कारण त्यो स्थगित भएको छ ।प्राविधिक प्रशासनमा लामो समय विताएका झा न प्राविधिक मात्र रहे, न त प्रशासक मात्र । उनलाई केमा विश्वास छ भने सेवा र सिकाइको उमेर हुन्न । जीवन नसकुन्जेल मानिस विद्यार्थी नै हो ।उनको विचारमा संसारको भौतिक विकासकर्ता भनेका इन्जिनियर नै हुन् । विकास निर्माणका संवाहकका रुपमा देशको इन्जिनियरिङ क्षेत्रको जिम्मेवारी सम्हाल्न पाउँदा उनी गर्व मात्र महसुस गर्दैनन्, हरेक समस्या इन्जिनियरिङ ‘प्वाइन्ट अफ भ्यु’ बाट समाधान हुने विश्वास राख्छन् ।सन् १९८७ मा ममतासँग मागीविवाह गरेका उनका दुई छोरा छन् । जेठा छोरा डाक्टर प्रसन्नकुमार झा डर्माटोलोजिस्ट छन् भने कान्छा छोरा प्रशान्त झा कम्प्युटर इन्जिनियर छन् । विद्यार्थी जीवनमा उनी लडाकु थिए । अन्याय अत्याचारविरुद्ध जाई लागिहाल्थे । भलिबल, ब्याटमिन्टन आदि खेलका सोखिन थिए ।अबको दुई महिनापछि उमेर हदबन्दीका कारण रिटायर्ड हुँदै छन्, झा । उनी जागिरे बन्धनबाट मात्र मुक्त हुन लागेका हुन्, जीवनबाट होइन । साँचो अर्थमा जागिरे बन्धनबाट अवकाश भनेको एउटा चरण सकिएर नयाँ चरण आरम्भ हुने मात्र हो ।अब उनको प्राथमिकतामा छन्, समाजसेवा र राजनीति । पुर्खाका मान, सम्मान, इज्जत, पदप्रतिष्ठा, योगदान र पदचाप पछ्याउँदै उनीहरुको भावनाको उत्तराधिकारीका रुपमा जोडतोडका साथ समाजसेवा र राजनीतिमा क्रियाशील हुने उनको संकल्प छ ।



प्रतिक्रिया दिनुहोस्