Logo

जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ : डा. भट्टराई



काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा वैकल्पिक शक्ति भएको नाताले पनि एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्नेमा जोड दिएका छन् । जसपाका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले बेग्ला बेग्लै विज्ञप्ती निकालेर वैकल्पिक सरकार बनाउने र नबनाउने भन्नेबारे आफ्नो धारणा राखेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संयुक्त वक्तव्य जारी गर्दै धारा ७६ को २ अनुसार सरकार गठनको लागि राष्ट्रपतिबाट आह्वान हुनुपर्ने बताएका थिए । तर, मध्यराति अर्का अध्यक्ष ठाकुरले जसपा वैकल्पिक सरकार निर्माणको पक्षमा नरहेको विज्ञप्ती निकालेर यादवलाई च्यालेन्ज गरिदिएका थिए ।

सोही परिस्थितिलाई मध्यनजर गर्दै डा. भट्टराईले आज विहान ट्विटरमार्फत आफ्नो धारणा राखेका छन् । उनले लेखेका छन्–’अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैन;मुख्य प्रश्न लोकतन्त्रको रक्षागर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ। वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ!’



प्रतिक्रिया दिनुहोस्