Logo

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन्



तनहुँ, २८ वैशाख: जिल्ला प्रहरी कार्यालय तनहुँले निषेधित समयमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित पालिकामा पठाएकामा रु.४० हजार जरिवाना तिरेर छुटेका छन् ।

जिल्लाको विभिन्न स्थान र मितिमा अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गर्ने सवारी साधानले पालिकाले तोकेअनुरुपको जरिवाना बुझाएर छुटेका हुन् । नदीजन्य वस्तु उत्खनन् गरी ओसारपसार तथा ओसार्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई सम्बन्धित पालिकामा पठाएकामा जरिवाना तिराएर छाडेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

त्यसैगरी व्यास नगरपालिका–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिका–७ दुलेपानी स्थितमा रहेको झोलुङ्गे पुलमाथी अवैध रुपमा ढुङ्गा राख्दै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरी चौकी कलेस्तीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि व्यास नगरपालिकाको कार्यालयमा बुझाएकामा उक्त कार्यालयबाट रु.आठ हजारका दरले रु.१६ हजार जरिवाना गरि छाडेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए । निषेधित समयको मौका छोपी नदीजन्य पदार्थ उत्खनन हुने गरेकाले सम्भावित क्षेत्रहरुमा प्रहरीले निगरानी बढाउन थालेको उनले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्