Logo

मेडिसिटी अस्पतालले भन्यो : ‘अक्सिजनको चरम् अभाव भयो, कोभिड-१९ संक्रमणका जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना लिन असमर्थ छौं’



काठमाडौं, २८ बैशाख । नेपाल मेडिसिटी अस्पतालले पछिल्लो समय अक्सिजनको चरम अभाव भएको जनाएको छ। अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा. राज राणाले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरिएको छ । अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु तथा १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरुमध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँदछौंं ।’

प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले सो का लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग अस्पतालले आग्रहसमेत गरेको छ ।

अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड–१९ संक्रमणका जटिल स्थितीका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको पनि डा. राणाले जनाएका छन् । जारी विज्ञप्तीमा थप भनिएको छ–‘हाल उपचाररत् बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौं ।’

हेर्नुहोस विज्ञप्तीको पूर्णपाठ :

 



प्रतिक्रिया दिनुहोस्