Logo

ठाकुरलाई प्रधानमन्त्री बनाईएमात्रै गठबन्धनको सरकार बनाउन जसपाका पाँच भाई तयार हुने !



काठमाडौं, २८ बैशाख । सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टी, नेपाल यतिवेला दुई धारमा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले बैशाख ३० गते साँझ ९ बजेसम्म बहुमतको सरकार बनाउनको लागि दलहरुलाई आह्वान गरेकी छिन् । जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने सवालमा नै विभाजित बन्यो । उपेन्द्र यादव पक्षले विपक्षमा मतदान गर्यो भने महन्थ ठाकुर पक्ष तटस्थ बस्यो ।

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष यादवले संयुक्त हस्ताक्षरसहित धारा ७६ को २ अनुसार सरकार गठनको लागि राष्ट्रपतिल आह्वान गर्नुपर्ने वक्तव्य दिएका थिए । राष्ट्रपतिले देउवा, दाहाल र यादवले भनेझैं धारा ७६ को २ अनुसार नै सरकार गठनको लागि दलहरुलाई तीन दिनको समय दिएर आह्वान गरेकी छिन् । तर, जसपाका प्रथम अध्यक्ष ठाकुरले भने वकैल्पिक सरकार गठनमा पार्टी नलाग्ने भन्दै विज्ञप्ती नै जारी गरेका छन् । उनले राष्ट्रपतिलाई यसबारेमा पत्राचार गरिसकेका छन् ।

यादव भने कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् । त्यसको लागि उनले लामो समयदेखि गृहकार्यसमेत गरेका थिए । तर, अर्का अध्यक्ष ठाकुरको विज्ञप्तीले धारा ७६ को २ अनुसार सरकार बनाउन त्यति सहज भने तीन दललाई छैन् । आजमात्रै पनि देउवा, दाहाल र यादवबीच छलफल भएको थियो । देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा जसपाका अर्का अध्यक्ष ठाकुरलाई विश्वासमा लिनेबारे कुराकानी भएको एक नेताले जानकारी दिए ।

उता, तीन भाई छलफलमा जुटेको बेला यता ठाकुर भने आफ्ना पार्टीका शीर्ष नेताहरु राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव र शरदसिंह भण्डारीसँग छुट्टै छलफलमा थिए । उनीहरुबीच पनि सत्ता समिकरणको विषयमा छलफल भएको थियो । सेतकाअनुसार वैकल्पिक सरकार बनाउनको लागि जसपा नै निर्णायक शक्ति भएकाले बरु सरकारको नेतृत्व लिनेगरि गृहकार्य थाल्नुपर्नेबारे कुराकानी भएको थियो ।

पाँच भाईको छलफलमा ठाकुरलाई सरकारको नेतृत्व दिन कांग्रेस तयार भए पार्टीबाट एकमतले विपक्षी गठबन्धनको सरकार बनाउन निर्णय लिने सहमति भएको छ । बरु, यसको लागि देउवासँग प्रस्ताव गर्नुपर्ने पनि नेताहरुको भनाई थियो । कतिसम्म भने हिजो गणतन्त्र नेपालको प्रथम राष्ट्रपति मधेशबाट डा. रामबरण यादवलाई बनाएर कांग्रेसले मधेशप्रति ठूलो गुण लगाएकोले अहिले पनि कांग्रेसकै सहयोगमा ठाकुरलाई प्रधानमन्त्री बनाउने अवसर आएको छ भन्नेबारे नेताहरुबीच चर्चा चलेको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्