Logo

भाजपा नेता स्वामीको टिप्पणी : भारतको ‘च्वाईस’ ओली



काठमाडौं, २८ बैशाख । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भारतको च्वाईस अर्थात् रोजाई भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् स्वामीले यस्तो बताएका हुन् । त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जितेको हुने पनि टिप्पणी गरेका छन् । नेपालमा नयाँ सरकार गठनको लागि दलहरु आन्तरिक छलफलमा जुटेको बेला भाजपा नेता स्वामीको यस्तो भनाई आएको हो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आह्वान गरेको भोलिपल्ट भाजपा नेताले यस्तो सनसनीपूर्ण टिप्पणी गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनको सरकार बनाउनको लागि गृहकार्यमा जुटेका छन् । तर, जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर भने वैकल्पिक सरकार निर्माणको लागि आफूहरु तयार नभएको भन्दै त्यसको विपक्षमा उभिएका छन् । Photo Source: Subramanian Swamy/Twitter



प्रतिक्रिया दिनुहोस्