Logo

भीम रावल लिएर माधव नेपाल पुगे देउवा निवास, नयाँ सरकार बनाउन सघाउने वचन !



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्न नेता नेपाल आफूनिकट नेता भीम बहादुर रावललाई लिएर बुढानिलकण्ठ पुगेको विश्वस्त स्रोतले जनाएको छ । देउवा र नेपालबीच आज दिउँसो नै भेट्ने समय तय भएको थियो । तर, नेता नेपाल आफूनिकट नेता तथा सांसदहरुसँग आन्तरिक छलफलमा व्यस्त भएकोले दिँउसो भेटवार्ता हुन सकेको थिएन । देउवा, नेपाल र रावलबीचको भेटवार्तामा वैकल्पिक सरकार गठनबारे गम्भीर छलफल भएको पनि स्रोतको दाबी छ ।

एमालेभित्र नेपाल पक्षले पार्टीको ह्वीप उल्लंघन गरेर हिजो नै एक किसिमको विद्रोह गरेको अवस्था छ । तर, अहिलेसम्म ह्वीप उल्लंघन गरेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षधर २८ सांसदलाई कारबाही प्रक्रिया भने अघि बढाएका छैनन् । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाएनन् ।

हिजो संसदमा २३२ जना उपस्थिति भएकोमा उनको पक्षमा जम्मा ९३ मात्रै मत पाएका थिए भने उनको विपक्षमा १२४ मत खसेको थियो । जसपाका १५ सांसद तटस्थ बसेका थिए । संसदमा कुल २७१ संख्या छ । अहिले नयाँ सरकार गठनको लागि जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल नै निर्णायक शक्ति बनेको छ । वैकल्पिक सरकार गठनको लागि कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले पहल लिएका छन् । कांग्रेस सभापति देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको लागि तीन दलका नेता सक्रिय भएका छन् ।

देउवाले माधव नेपाल पक्षका सांसदको भूमिका के हुने हो ? भनेर चिन्ता गरिरहेको बेला आज साँझ नेता नेपाल भीम रावलसहित देउवा निवास पुगेको स्रोतको दाबी छ । नेता नेपालले यसअघि पनि देउवालाई भेटेर सरकार बनाउनको लागि पहल लिन आग्रह गरिसकेका थिए । आजको भेटमा पनि नेपालले देउवालाई आफ्नो साथ रहने भन्दै नयाँ सरकार गठनको लागि सघाउने वचन दिएका छन् ।

नेपाल र रावलसँग भेट्नुअघि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । देउवाले आज विहान मात्रै प्रचण्ड र उपेन्द्र यादवसँग पनि भेटवार्ता गरिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को २ बमोजिम सरकार गठनको लागि दलहरुलाई बैशाख ३० गते राति ९ बजेसम्मको समयसिमा राखेर आह्वान गरेकी छिन् ।

माधव नेपाल पक्षधरले हिजो संसद बैठक बस्नुअघि सामूहिक राजीनामा दिने तयारी गरेको थियो । तर, अन्तिममा यो समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय गर्दै पार्टी एकता जोगाउनको लागि प्रयास जारी राख्ने निर्णय गर्यो । र, २८ जना सांसद बैठकमा गएनन् । आज नेता नेपाल आफू पक्षधर स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफलमा बसेका थिए ।

यो समूहमा अझैपनि संयुक्त रुपमा राजीनामा दिनुपर्ने सांसदहरुको बहुमत छ । तर, योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टलगायतका नेताहरुले भने राजीनामा दिन नहुने भन्दै पार्टी एकताको पक्षमा अझै लचिलो बन्नुपर्ने भन्दै नेता नेपालमाथि दबाब सिर्जना गरेका छन् । तर, विश्वस्त सूत्रले दिएको जानकारीअनुसार नेपाल पक्षधर कम्तिमा पनि २० जना सांसदले राजीनामा दिनेगरि तयारी भएको छ । यो भयो भने विपक्षी गठबन्धनको सरकार बन्न सहज वातावरण बन्ने पनि यो समूहले विश्वास लिएको छ । आजको देउवावसँगको भेटवार्तामा पनि यही विषयमा छलफल भएको स्रोतको दाबी छ ।

तर, नेपाल पक्षधर केही स्थायी कमिटी सदस्यहरुले भने आफूहरु सरकार बनाउने खेलमा अरु दलको लागि सहयोगी भूमिकामा नउत्रिने बताईसकेका छन् । आजको छलफलमा समेत आफूहरुको संघर्ष पार्टी एकताको लागि भएकोले अझैपनि अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किन सहमत भए पार्टी एक भएर अघि बढ्ने ती नेताहरुको विश्वास छ । तर, अध्यक्ष ओली भने अब कुनैप्नि हालतमा ब्याक हुने अवस्था नरहेको स्वयम ओलीनिकट नेताहरुको दाबी छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्