Logo

ओलीलाई परास्त गरिछाड्ने भीम रावलको दाबी, म सामूहिक राजीनामाको पक्षमा छु



काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का नेता भीम रावलले आफू सामूहिक राजीनामा दिनुपर्ने पक्षमा उभिएको बताएका छन् । पार्टीभित्रको विवादका कारण माधव नेपाल समूहका सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेका छन् । यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिएका थिए । तर, उनले उनी विश्वासको मत लिन असफल भएका थिए । उनको पक्षमा जम्मा ९३ मत खसेको थियो भने विपक्षमा १२४ मत खसेको थियो । जसपाको महन्थ ठाकुर पक्षधर सांसदहरु भने तटस्थ बसेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन राति तीन दिनको समयसिमा दिएर धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि पहल लिएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादवको साथ लिएर देउवा सरकार गठनको अन्तिम गृहकार्यमा जुटेका छन् । सकेसम्म जसपाको सिंगो साथ लिएर अघि बढ्न चाहेका देउवा अन्तिममा ठाकुर पक्षले सघाउन खासै रुचि नदेखाएपछि यादव पक्षको मात्रै साथ लिएर भएपनि अघि बढ्ने मुडमा पुगेका छन् ।

देउवालाई जसपाको बहुमत सांसदको सहयोग रहने विश्वास गरिएको छ । त्यतिमात्रै होईन, एमालेको माधव नेपाल पक्षले पनि देउवालाई नयाँ सरकार गठनको लागि सघाउने वचन दिएको छ । हिजोमात्रै वरिष्ठ नेता नेपाल र भीम रावलले देउवासँग भेटवार्ता गरेका थिए । उनीहरुले सरकार गठनको लागि सघाउने भन्दै २० जना सांसदले राजीनामा दिने वचन दिएका छन् । नेपाल पक्षले राजीनामा दिने तयारी भैसकेको विश्वस्त स्रोतको दाबी छ । कम्तिमा पनि २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिन लागेको र जुन संख्या देउवालाई नयाँ सरकार गठनको लागि पर्याप्त हो । कतिसम्म भने नेपाल पक्षका सबै सांसदहरुले राजीनामा दिने पत्रमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाईसकेका छन् । नेपालले जुनसुकै बेलापनि सार्वजनिक गर्नसक्ने एक सांसदले जनाए ।

उता, भीम रावलले पनि आफू सामूहिक राजीनामाको पक्षमा रहेको बताउँछन् । उनले अब आफूहरु अध्यक्ष ओलीसँग सम्झौता गर्ने पक्षमा नरहेको भन्दै तत्काल सामूहिक राजीनामा दिएर एउटा निकास दिने विश्वास दिलाएका छन् । उनले ओलीलाई परास्त गर्नुको विकल्प नभएको पनि टिप्पणी गरेका छन् । ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा रावलले भने–‘केपी ओलीलाई परास्त गर्नुपर्छ । उहाँले संविधान र उपलब्धि नै समाप्त पार्ने षड्यन्त्र गर्नुभएको छ । अब हामी यत्तिकै बसेर हुँदैन् । मेरो मत त सामूहिक राजीनामा नै हो । हामी तयारी अवस्थामा छौं ।’

उनले ह्वीप उल्लंघन गरेबापत ओलीबाट कारबाही भोग्नु र सम्झौता गर्नुभन्दा सामूहिक राजीनामा दिएर एउटा बाटो तय गर्नुपर्ने सुझाव दिएको स्मरण गराए । उनले भने,‘मैले त राजीनामा दिनु राम्रो हुन्छ भनिसकेको छु । म सामूहिक राजीनामाको पक्षमा छु । ओलीको निरंशुकता रोक्न पनि यो कदम उपयुक्त हो । ओलीले संविधान र प्रणली ध्वस्त पार्ने काम गरे । त्यसैले राजीनामा दिनु निकास हो । मेरो यही मत छ।’ File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्