Logo

देउवा-नेपालबीच ७ बुँदे सहमतिको खाका तयार



काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का नेता माधव कुमार नेपालबीच ७ बुँदे सहमतिको खाका तयार भएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर देउवाको नेतृत्वमा सरकार गठन गर्नको लागि माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको हल्ला चलेको अवस्थामा देउवा र नेपालबीच भने सात बुँदे सहमतिको खाका मोटामोटी तयार भैसकेको उच्च स्रोतको दाबी छ ।

देउवाले नेकपा (माओवादी केन्द्र) र जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको साथ लिएर सरकार गठनको लागि पहल गरेका छन् । यसको लागि माधव नेपाल पक्षधर सांसदहरुले राजीनामा दिनुपर्ने हुन्छ । त्यसको लागि हिजो राति अवेरसम्म भीम रावलसहित चलेको छलफलमा देउवासँग नेता नेपालले वचन दिईसकेका छन् । नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिनेगरि हस्ताक्षरसमेत नेता नेपाललाई बुझाईसकेको बुझिएको छ ।

बैशाख २७ गते प्रधानमन्त्री ओली संसदमा विश्वासको मत लिन असफल भएका थिए । २७ बैशाखको राति नै राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि बैशाख ३० गते राति ९ बजेसम्मको समयसिमा तोकेर दलहरुलाई आह्वान गरेकी छिन् । सोहीअनुसार विपक्षी गठबन्धनलाई बहुमत पुर्याउनको लागि आवश्यक कदम चाल्ने भनेर नेपाल पक्षले भनिसकेको थियो ।

हिजो अवेर रातिसम्म बुढानिलकण्ठमा भएको देउवा नेपाल भेटवार्तामा सहकार्यको लागि ७ बुँदे सहमतिको प्रस्ताव तयार पारिएको उच्च स्रोतको दाबी छ । सहमतिको पहिलो बुँदामा माधव नेपाल पक्षधरले राजीनामा दिने कुरा भनिएको छ । दोस्रो बुँदामा देउवा सरकार बनिसकेपछि उक्त सरकारमा नेपाल पक्षका कम्तिमा पनि ६ जनालाई मन्त्री बनाईने, तेस्रोबुँदामा राजीनामा दिएका नेपाल पक्षधर सबैलाई गठबन्धनको रुपमा उम्मेद्धवार बनाएर उपनिर्वाचनमार्फत जिताउने, चौथो बुँदामा चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने, छैटौं बुँदामा नेपाल पक्षले निर्माण गर्ने नयाँ पार्टीको लागि आवश्यक सहयोग गर्ने र सातौं बुँदामा आगामी संसदको निर्वाचनमा पनि गठबन्धन बनाएर जाने कुरा उल्लेख रहेको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot