Logo

भाइरसको अनियन्त्रित विस्तारले नवीन प्रजाति जन्माउँछ 



जुनैद नाबी : उत्तरी भारतको कास्मिर उपत्यकामा म हुर्कँदै गर्दा मेरा चिकित्सक पिता मलाई वार्षिक खोप दिन लान्थे । त्यत्तिबेला म उनलाई खोपले कसरी काम गर्छ र खोपको विकास कहाँ भएको थियो भनी जिज्ञासा राख्थेँ । मानव शरीरको प्रतिरक्षा प्रणालीबारे आधारभूत जीवविज्ञानको व्याख्यापछि मेरो बुबाले संसारभरका वैज्ञानिक र संस्थाहरू अहोरात्र काम गरेर विश्वलाई सुरक्षित गर्न खोपको विकासका लागि कसरी विश्वव्यापी प्रयास भइरहेको छ भन्ने कुरा सम्झाए ।

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या ४ लाख (विश्वकै सर्वाधिक) पुगेको छ भने कोरोनाको कारण मर्नेको कुल सङ्ख्या २ लाख ४५ हजारभन्दा बढी नाघिसकेको छ । यस्तो अवस्थामा विश्वव्यापी पहलले मात्र भारतमा चालु कोभिड–१९ को सङ्कट समाधान गर्न सकिन्छ । वासिङ्टन विश्वविद्यालयको स्वास्थ्य मापदण्ड र मूल्याङ्कन प्रतिष्ठानको सरुवा रोगसम्बन्धी निकायले भारतमा केही समय सङ्क्रमण यसरी नै तीव्ररूपमा बढ्ने र मे महिनाको मध्यमा उत्कर्षमा पुग्ने पूर्वानुमान गरेको छ । भारतमा कोभिड–१९ को कारण मर्नेको कुल सङ्ख्या दस लाख नाघ्न सक्ने सो संस्थाले दाबी गरेको छ । भारतको अवस्था कठिन भइरहेको यो समयमा अन्तर्राष्ट्रिय नीति निर्माताहरूले त्यसको प्रभाव भारतमा मात्र सीमित हुने सोच्नु भने गलत हुनेछ ।

कोरोना भाइरस भारतमा जति फैलिन्छ र पुनःउत्पादन हुन्छ, त्यत्ति नै उत्परिवर्तित पनि हुनेछ । भाइरसको अनियन्त्रित विस्तारले नवीन प्रजातिलाई जन्माउँछ । जसले महामारीलाई अझ लम्ब्याउनेछ । भारतमा भयावह अवस्थाको निम्ति जिम्मेवार बी.१.६१७ प्रजातिको भाइरस संरा अमेरिकासहित संसारका १९ वटा देशमा फैलिसकेको देखिन्छ । पछिल्ला रिपोर्टअनुसार यो प्रजातिले मानिसको रोग प्रतिरक्षा क्षमतामा ह्रास गराउँछ । जसले स्वास्थ्य प्रणालीमा थप दबाब सिर्जना गर्छ । त्यसमाथि अहिले हामीले लिएको कोभिड–१९ खोपले बी.१.६१७ प्रजातिको भाइरस रोकथामविरुद्ध कति प्रभावकारी ढङ्गले काम गर्छ भन्ने विषयमा हामीलाई अझै थाहा छैन । त्यो कुराले संसारभरको खोप अभियानलाई प्रभावित बनाउनेछ ।

चिन्ताको विषय त के हो भने यो प्रजातिको उदयले अन्य कम आयका भारतका छिमेकी देशहरू पाकिस्तान र बङ्गलादेशको कमजोर स्वास्थ्य प्रणालीलाई पनि जोखिममा पार्न सक्छ । ती देशहरूमा जनसङ्ख्या सघन छ । तर, त्यहाँ सघन उपचार क्षमता र भेन्टिलेटरको कमी छ । त्यहाँ कोभिड–१९ को खोप दर ५ प्रतिशतभन्दा न्यून छ । अफ्रिका र दक्षिण अमेरिकी गरिब देशहरूको स्वास्थ्य स्याहार क्षमता पनि निकै सीमित छ । ती देशहरू अझै पनि ब्राजिल प्रजातिको कोरोना भाइरसको अनियन्त्रित सङ्क्रमण रोक्न लागिरहेका छन् । बी.१.६१७ ले यदि मध्यम स्वास्थ्य प्रणाली क्षमता भएको भारतमै यस्तो ध्वंस मच्चिरहेको छ भने न्यून साधन–स्रोत सम्पन्न देशहरूमा यो फैलिए ठूलो विनाशकारी प्रभाव पार्नेछ ।

भारतमा अहिलेको अवस्था अचानक आइपरेको पश्चगमन हो । भारतले संसारको कुल खोपमध्ये ६० प्रतिशतभन्दा बढी खोप आपूर्ति गरिरहेको थियो । भारतले कोभिड–१९ को खोप उत्पादनमा संसारका धेरै देशलाई उछिन्ने अपेक्षा गरिएको थियो । तर, नयाँ प्रजातिले भारतको स्वास्थ्य प्रणालीमा तहसनहस बनाएपछि अब खोप उत्पादन क्षमता बढाउन अझ कति समय लाग्ने हो, अस्पष्ट छ । भारतमा अहिले खोप सकिंदै छ । संसारकै सबभन्दा ठूलो खोप उत्पादक सिरोम इन्स्टिच्युटले केही समयका लागि खोप उत्पादन बढाउन सकेको छैन । अर्थशास्त्रीहरूले न्यून स्रोत भएका देशहरूले आगामी सन् २०२३ सम्ममा पनि कोभिड–१९ को खोप अभियानलाई पूर्णता नदिन नसक्ने पूर्वानुमान गर्दै छन् । अहिलेको सङ्कटले विश्वव्यापी महामारीपछिको पुनःस्थापनालाई अझ पर धकेलेको छ ।

अहिलेको गम्भीर अवस्थामा भारतलाई अन्तर्राष्ट्रिय समुदायले यतिबेला नैतिक समर्थनमात्र दिएर पुग्ने अवस्था छैन । बरु, भारतलाई सहायता गर्न हातमा हात मिलाएर सामूहिक अवधारणाको विकास गर्नुपर्छ । किनभने, यो अन्य देशका जनता र अर्थतन्त्रसँग जोडिएको विषय हो । सरकारहरूले यसको प्रभाव न्यून गर्न भरमग्दुर प्रयास गर्नुपर्छ ।

कोभिड–१९ को कारण झन्डै ६ लाख मानिस (अन्य कुनै पनि देशभन्दा बढी) गुमाएको अमेरिकाले यो कर्ममा नेतृत्वदायी भूमिका खेल्नु जरुरी छ । अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले भारतलाई ६ करोड मात्रा अक्सफोर्ड–एस्ट्राजेनेका खोप सहायता गर्ने घोषणा गरेको छ । तर, त्यो खोप भारतमा पुर्याउन दुई महिना लाग्ने हालैका समाचारमा उल्लेख छ । खोप पुर्याउने प्रक्रियालाई सकेसम्म छिटो बनाउनु जरुरी छ । भारतमै खोप उत्पादन क्षमता वृद्धि गर्न कोभिड–१९ खोप उत्पादनका लागि आवश्यक पर्ने कच्चा सामग्री उपलब्ध गराउन अमेरिकाले भूमिका खेल्नुपर्छ ।

दोस्रो, खोपलगायत कोभिड–१९ सँग सम्बन्धित सबै स्वास्थ्य सामग्रीमा बौद्धिक सम्पत्ति अधिकार विश्वव्यापीरूपमा हटाउन अमेरिकाले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्नुपर्छ । विश्व व्यापार सङ्गठनमा यस्तो प्रस्ताव भारत र दक्षिण अफ्रिकाले लामो समयदेखि उठाउँदै आएका थिए । भारतमा अहिले २ प्रतिशतभन्दा कम जनताले मात्र खोप लगाएका छन् । त्यसकारण बौद्धिक सम्पत्ति अधिकार हटाउन अत्यावश्यक भएको छ । हालै जेफ्री डी सच्सले व्याख्या गरेजस्तै भारत र अन्य देशमा खोप अभियान अघि बढाउन, बौद्धिक सम्पत्तिका हकदारलाई अनुदान दिन तथा अन्य छुटको क्षेत्र तथा समयावधि सीमित गर्नुका साथै औषधि अनुसन्धानबारे थप संरचनाहरू कायम छन् ।

भारतको स्वास्थ्य क्षमता बढाउन विश्व स्वास्थ्य सङ्गठनसँग पनि देशहरूले समन्वय गर्नु जरुरी छ । गत वर्ष चीनमा सङ्क्रमण व्यापकरूपमा फैलिएको बेलामा पाँचै दिनमा अस्पताल बनाउने चीनले पनि भारतलाई क्षमता विस्तारबारे आफ्नो अनुभव भन्न आवश्यक छ । ठूला खेलकुद भवनलाई कोभिड–१९ का बिरामीका लागि एकान्तवास एकाइमा रूपान्तरण गरी अस्पतालहरूमाथिको बोझ घटाउने विषयमा नाइजेरिया र अमेरिकासँग राम्रो अनुभव छ ।

कोभिड महामारीबाट आंशिकरूपमा उम्किँदै गरेका देशहरूले अक्सिजन कन्सनट्र्याक्टर र भेन्टिलेटर सहयोग गर्नुपर्छ । अन्तर्राष्ट्रिय व्यवसायिक चिकित्सक सङ्गठनले अक्सिजन, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधिसहित अत्यावश्यक सामग्री प्रदान गर्न स्रोतको बन्दोबस्त गर्न र नियमहरूको विकास गर्नुपर्छ ।

धेरै देशहरू अहिले कोभिड–१९ को सङ्कटबाट अन्ततः उम्किन थालिसकेका छन् । तर, नीति निर्माताहरूले महामारीको सबभन्दा महत्त्वपूर्ण शिक्षालाई भुल्नु हुन्न । हरेक देश सुरक्षित नभएसम्म सबै देश सुरक्षित हुँदैन । भारतको सङ्कटले जनस्वास्थ्यको विश्व प्रकृतिलाई प्रकाशमा ल्याउँदै गर्दा अन्तर्राष्ट्रिय सहकार्यको लाभ पुनः एकपल्ट उजागर गर्ने अवसर प्राप्त भएको छ ।

(लेखक विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक स्वास्थ्य तथा अनुसन्धानका लागि नियामक निकायको कार्यदल सदस्य हुन् ।)
प्रोजेक्ट सिन्डिकेट

 



प्रतिक्रिया दिनुहोस्