माधव नेपाल फकाउँदै ओली, विष्णु पौडेल नेपाल निवासमा


काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) माधव कुमार नेपाल पक्षलाई सहमतिमा ल्याउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम प्रयास गरेका छन् । यसको लागि उनले अहिले आफूनिकट नेता विष्णु पौडेललाई नेता नेपालको निवासमा पठाएका छन् । स्रोतकाअनुसार नेता नेपाललाई भेट्न पौडेल विहान ८ बजे नै नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नेपाल पक्षका २८ जना सांसदले सामूहिक राजीनामा दिने तयारी गरेको अवस्थामा नेता पौडेल नेपाललाई भेट्न उनकै निवास पुगेका हुन् । यता, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको स्थायी कमिटी बैठकसमेत अहिले ९ बजे राखेका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा पक्ष मिलेर वैकल्पिक सरकार गठनको तयारी गरेका छन् । र, नेपाल पक्षले राजीनामा दिएर विपक्षी गठबन्धनलाई गणित सहज तुल्याउनेगरि मुभ गर्न आँटेको थाहा पाएपछि बालुवाटार नेपाल पक्षसँग वार्ताको लागि अन्तिम समयमा सक्रिय भएको हो ।

हिजो साँझपनि नेता नेपालसँग वार्ता गर्न अध्यक्ष ओलीले चाहेका थिए । तर, नेपालले खासै वास्ता नगरेकोले हिजो वार्ता सम्भव नभएको बुझिएको । नेपाल पक्षधर सांसदहरु भने अब ओलीसँग कुनै पनि हालतमा सम्झौता गर्ने पक्षमा आफूहरु नरहेको भन्दै सामूहिक राजीनामा दिने बताउँदै आएका छन् ।

हिजोमात्रै सांसद भीम रावलले पनि यही धारणा राखेका छन् । नेपाल पक्षधर अर्का सांसद सरलाकुमारी यादवले पनि पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूहरुले आजै राजीनामा दिने बताएकी छिन् । र, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने घोषणा गरेकी छिन् ।

File Photo/ReportersNepal