Logo

कांग्रेस नेतृ पवित्रा लामाको टिमले दिनहुँ सडकका असहाय व्यक्तिहरुलाई खाना खुवाउदै



काठमाडौँ, ३० वैशाख । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर रोकथाम गर्न सरकारले जारी गरेको लकडाउन शुरु भएलगत्तै काठमाडौँको विभिन्न स्थानका सडकपेटिमा रहेका असहाय व्यक्तिहरुलाई ‘भोको मर्न दिन्नौँ’ भन्ने नाराका साथ दिनहुँ कांग्रेस नेतृ पवित्रा लामाको टिमले खाना, औषधि र कपडा वितरण गरिरहेको छ ।

नेपालमा कोरोना संक्रमणले भयावह रुप लिएपछि सरकारले लकडाउनलाई कडाई गरिरहेको अवस्थामा पवित्रा लामा र उनको टिमले आफ्नो तर्फबाट सडकमा रहेका असहाय व्यक्तिहरुलाई खाना, औषधि र कपडाको व्यवस्था गरिरहेको हो ।

नेतृ पवित्रा लामालगायत वेवारिसे शव व्यवस्थापन तथा पुर्नःजीवन केन्द्रका केन्द्रिय अध्यक्ष विनय जंग बस्नेत, नेपालगञ्ज शाखाकी संयोजक पुजा विश्वकर्मा र सदस्य निर्जला तामाङ्ग निरन्तर यस कार्यमा वेसाहाराका लागि निरन्तर सहयोग पुर्याइरहेका छन् । उनीहरुले निरन्तर १४औँ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा रहेका अपाङ्ग र असहाय व्यक्तिहरुलाई खाना, औषधि र कपडाको व्यवस्था गरिरहेको उनले बताईन् । नेतृ लामाले सरकार अहिले कोभिड–१९ नियन्त्रणमा असफल भएको समेत आरोप लगाइन् ।

नेतृ लामाले यस सन्दर्भमा भनिन्,‘सरकार महामारीको बेला आफ्ना असहाय नागरिकका लागि कुनै पनि उपयुक्त कदम चाल्न सकेको छैन् । वर्तमान सरकार महामारीमा निरिह भइसेकेको पुष्टि हुन्छ । हामी आफ्नो संस्था वेवारिसे शव व्यवस्थापन तथा पुर्नःजीवन केन्द्रको माध्यमबाट काठमाडौँका विभिन्न स्थानमा रहेका अपाङ्ग र असहाय व्यक्तिहरुलाई खाना खुवाइ रहेका छौँ । महामारीको बेला रोजगारी गुमाएका मानिसहरलाई घरभाडा तिर्न समेत गाह्रो भएको छ । उनीहरु बाध्य भएर सडक छेउमा बास बसिरहेको छ । अस्पतालमा अक्सिजन सिलिण्डरको समेत चरम अभाव भएको छ । त्यसकारण संक्रमितहरुको सजिलै ज्यान गइरहेको छ । सरकारलाई यस्को ध्यानार्कषण होस् ।’

खाना खुवाउन र कपडा वितरण गर्न विभिन्न देशमा रहेका नेपाली जनता र राजनितिक दल नेपाली कांग्रेसले सक्दो सहयोग गरिरहेको समेत उनले बताइन् । उनको यस मानविय कामलाई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले प्रोत्शाहन समेत गरिरहेको उनले बताइन् । उनले भनिन्,‘नेपाली कांग्रेसले यस कामलाई प्रोत्शाहन गरिरहेको छ । लकडाउन रहुञ्जेल हामी सडकका मानिसहरुलाई निरन्तर खाना, औषधी र कपडाको व्यवस्था गर्नेछौँ । यसपटक हामीले औषधिको समेत व्यवस्था गरेका छौँ । कोरोना महामारीको बेला उनीहरुको कोही पनि सहारा बन्न नसकेको र उनीहरुको नजिक जान पनि मानिसहरु डर मान्ने गर्दछ । यस्तो वेलामा हाम्रो टिम उनीहरुको सम्पूर्ण ख्याल राख्ने प्रयास गरिरहेका छौँ ।’ महामारीको भयावह अवस्थामा सम्पूर्ण नागरिकलाई सचेत रही आफ्नो तर्फबाट सक्दो पहल र सहयोगको भावना राख्नु पर्ने समेत उनले आग्रह गरिन् ।

कोरोना संक्रमणको पहिलो लहरमा समेत नेतृ पवित्रा लामा र उनको टिमले निरन्तर सैयौँको संख्यामा दिनहुँ पशुपति क्षेत्रमा खाना खुवाएकी थिइन् ।

Photo Source: FB Page of Pabitra Lama



प्रतिक्रिया दिनुहोस्