ठाकुर र महतो भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सत्ता समिकरणको निर्णायक शक्ति मानिएको जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटवार्तालगत्तै देउवाले पदाधिकारी बैठक बोलाएको एक नेताले जानकारी दिए ।

आजको बैठकमा वैकल्पिक सरकारको दाबी गर्ने कि नगर्ने भन्नेबारे छलफल हुने छ । ती नेताले दिएको जानकारीअनुसार बैठक देउवा निवास बुढानिलकण्ठमा दिउँसो ४ बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आज राति ९ बजेसम्मको समय दिएकी छिन् ।

कांग्रेसले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको साथ लिएर सरकार बनाउने प्रयत्न गरिरहेका छन् । तर, जसपामा भने दुई धार देखिएको छ । एउटा धारको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गरेका छन भने अर्को धारको नेतृृत्व अध्यक्ष ठाकुरले गरेका छन् ।

ठाकुर पक्षले वैकल्पिक सरकार गठनमा आफूहरुको कुनै चाहना नभएको भन्दै सार्वजनिक रुपमै विज्ञप्ती निकालेको छ । तर, यादवले भने देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर बैशाख २७ गते नै धारा ७६ को २ अनुसार सरकार गठनको लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । File Photo/ReportersNepal