Logo

बहुमतको प्रधानमन्त्रीमा कसैको दाबी परेन, अब ओली नै अल्पमतको प्रधानमन्त्री



काठमाडौं, ३० वैशाख । प्रतिनिधि सभाका कुनै पनि सदस्यले बहुमतको दाबी प्रस्तुत गर्न नसकेपछि नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।

यसअघि राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई दाबी प्रस्तुत गर्न आव्हान भएकोमा कसैको पनि दाबी पेश नभएको जानकारी दिएका छन् ।

धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछिन् । ठूलो दलको नेताको हैसियतले ओली नै प्रधानमन्त्री हुनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा २ बमोजिम तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय ३० वैशाखको साँझ ९ बजे सकिएको हो ।

ओली प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्