Logo

सामाजिक सुरक्षा योजनाः योगदानकर्ता संक्रमित भए उपचार खर्च पाउने



काठमाडौं, बैशाख ३१ । कोरोना भाइरसबाट योगदानकर्ता संक्रमित भए सामाजिक सुरक्षा कोषले उपचार खर्च दिने भएको छ । कोषका अनुसार महामारीका बेला योगदानकर्ता संक्रमित भएर अस्पताल वा घरमै उपचार गर्नुपर्ने भए उपचारमा लागेको खर्च नियमअनुसार भुक्तानी दिइनेछ ।

औषधि उपचार योजनाअन्तर्गत कोभिड संक्रमितको खर्च बेहोरिन लागिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् । उनका अनुसार योगदानकर्ताले उपचारबापत १ लाख बराबरको उपचारमा २० प्रतिशत खर्च आफै बेहोर्नुपर्नेछ । अन्य खर्च कोषमा दाबी गर्नेबित्तिकै योगदानकर्ताले पाउनेछन् । ‘दोस्रो चरणको महामारी शुरू भएसँगै कोभिड संक्रमित योगदानकर्ताले उपचार खर्चबापत दाबी माग गर्न थालिसकेका छन्, हामी क्रमिक रूपमा भुक्तानी दिँदै छौं,’ ज्ञवालीले भने । उनका अनुसार महामारीमा योगदानकर्तालाई कोषले उपचार खर्चमार्फत राहत दिन थालेको हो ।

अस्पतालबाट सीधै १ लाखको ८० प्रतिशत छूट दिने व्यवस्था अझै लागू भइनसकेकाले अहिले संक्रमित योगदानकर्ताले कोषमा नै दाबी भुक्तानी गर्न आउनुपर्ने ज्ञवालीले बताएका छन् । अस्पतालमा उपचार गराउँदा ८० प्रतिशत छूट सीधै पाउने व्यवस्था साउनपछि मात्रै लागू गर्ने तयारी छ । अहिलेसम्म १०५ भन्दा बढी अस्पतालसँग यो सुविधा दिनका लागि कोषले समझदारी गरिसकेको छ ।

कोषका अनुसार कोरोना महामारी उत्कर्षमा पुगे पनि दाबी भुक्तानी रोकिएको छैन । औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा मात्रै अहिलेसम्म १ हजार ५ सय ७८ लाभग्राहीले २ हजार ५ सय २४ पटक दाबी गरी भुक्तानी लिएको देखिन्छ ।

कोरोना महामारीको दोस्रो लहर शुरू भए पनि कोषमा आबद्ध हुने रोजगारदाता तथा योगदानकर्ताको संख्या घटेको छैन । बुधवारसम्म १३ हजार ८ सय ४५ रोजगारदाता सामाजिक सुरक्षा योजनामा सहभागी भएका छन् भने आबद्ध योगदानकर्ताको संख्या २ लाख २ हजार ३ सय ५३ छ । सबैभन्दा बढी वाग्मती प्रदेशका ९ हजार २ सय ५९ रोजगारदाता कोषमा दर्ता भएका छन् भने सोही प्रदेशबाट १ लाख ५१ हजार ५ सय ५४ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्