Logo

ओली तेस्रोपटक प्रधानमन्त्रीः गठबन्धन सरकारको प्रयास विफल



काठमाडौं, बैशाख ३१ । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले बिहीबार साँझसम्म संविधानको धारा ७६ ९२० अनुसार संयुक्त सरकार गठनका लागि पहल गरेका थिए। तर सत्ता गठबन्धनका लागि निर्णायक जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष वैकल्पिक सरकार गठनका लागि तयार नहुँदा राष्ट्रपतिले दिएको समयभित्र संयुक्त सरकार गठन हुन नसकेको हो।

बिहीबार राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिएकी थिइन्। तोकिएको समयमा दलहरूले दाबी प्रस्तुत गर्न नसकेपछि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। संविधानको धारा ७६ ९२० अनुसार सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ ९३० अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए। तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त ओलीले शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको सपथ लिने तय भएको भट्टराईले बताए।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री बनेका ओली २०७४ को आम निर्वाचनपछि सोही सालको फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। दुवै पटक माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले सोही दलले समर्थन फिर्ता लिएपछि वैशाख २७ गते संसद्मा विश्वासको मत गुमाएका थिए।

ओली नेतृत्वको सरकार विस्थापित गर्न एमालेकै नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सक्रिय भएका थिए। उनीहरूको प्रयास असफल भएको छ। दुई पार्टी एकीकरण भएर बनेको नेकपा अस्तित्वमा हुँदैदेखि ओलीलाई पदबाट हटाउन नेपाल र दाहाल सक्रिय भएका थिए। यही कारण एकीकरणको तीन वर्ष नबित्दै नेकपा फुट्न पुगेको थियो। अदालतले एकीकरणलाई रद्द गरेपछि साबिकका एमाले र माओवादी केन्द्र ब्युँतिन पुगेका थिए।

दाहाल र नेपालले असहयोग गरेपछि त्यसैलाई कारण देखाएर ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए, जसलाई पछि सर्वोच्च अदालतले बदर गरेको थियो। प्रतिनिधिसभा पुनस्र्थापित भएपछि पनि ओलीलाई विस्थापित गर्ने प्रयास जारी रह्यो। यसै बीच ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका थिए। नेता नेपालसहित एमालेकै २८ सांसद अनुपस्थित हुनुका साथै माओवादीले पनि समर्थन नदिंदा ओलीले विश्वास गुमाएका थिए।

त्यसपछि पनि विकल्प दिन नसक्दा यति बेला ओली अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका हुन्। कम्युनिस्ट पार्टीबाट तीनपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन्। ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुअघि राष्ट्रपति कार्यालयले साँझ ९ बजेसम्म धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा दाबी नपरेको जनाएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्