Logo

ओलीविरोधी गठबन्धनको सरकार बन्न नदिन महेश बस्नेतले खेलेको भुमिका



काठमाडौं, ३१ वैशाख । भक्तपुरका सांसद हुन् महेश बस्नेत । स्थानीय तहबाट राजनीतिमा बढेका बस्नेत सधै केपी शर्मा ओलीका विश्वासपात्र बने । युवा संघको अध्यक्ष बनेर आफ्नो क्षमता प्रदर्शन गरेका उनी लडाकु स्वभावका बन्दै ओलीलाई सफल बनाउन खटिइरहे ।

यसपटक पनि ओलीविरोधी गठबन्धनलाई बहुमतको सरकार बनाउनबाट रोक्न बस्नेत नै सक्रिय रहे । उनले जनता समाजवादी पार्टीका १३ सांसद भक्तपुरस्थित सिपाडोलको रिसोर्टमा पुर्याए । उक्त रिसोर्ट उनी निकटस्थहरुकै लगानीमा सञ्चालित छ ।

बबरमहलस्थित जसपा सम्पर्क कार्यालयबाट सांसदहरु डोलेश्वर पुर्याइएका थिए । भक्तपुरको सुर्यविनायक नगरपालिका ८ को सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा एमाले नेताहरुको लगानी समेत रहेको छ । लगानीकर्ताहरु बस्नेत निकट हुन् ।

१३ सांसदको व्यवस्थापनमा स्वयं महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय रहे । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि हुन् ।

ठाकुरनिकट सांसदहरुलाई डोलेश्वर पुर्याएर जसपाको पूर्ण साथ नबन्ने अवस्था सृजना गरे । जसका कारण काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहको गठबन्धनलाई बहुमत पुगेन । माधव नेपाल पनि ओलीसँग सहमति गर्न पुगे ।

यसअघि बस्नेतले तत्कालीन समाजवादी पार्टी नेपाललाई विभाजन गर्न महोत्तरीबाट सांसद डा.सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । तर, यादवले पछि आफूलाई अपहरण गरिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । यो घटना राष्ट्रिय चर्चामा आयो ।

 



प्रतिक्रिया दिनुहोस्