Logo

किन पछि हटे माधव नेपाल ?



काठमाडौं, ३१ वैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भनेजस्तै प्रधानमन्त्री केपी शर्मा ओली ‘चतुर राजनीतिक खेलाडी’ निस्किए । उनले आफूविरोधी गठबन्धनलाई प्रतिनिधि सभामा बहुमत पुर्याउनबाट विफल पारे । त्यसका लागि जसपाको महन्थ ठाकुर पक्षधरलाई साथमा पारे । फुटको संघारमा पुग्न लागेको पार्टीलाई जोगाएर माधवकुमार नेपाललाई सहमतिमा ल्याए ।

२० प्रत्यक्ष निर्वाचित सांसदसहित राजीनामाका लागि ३० वैशाखमा तयार भइसकेका नेपाल अचानक पछि हटे । उनीमाथि आफ्नै गुटका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईले दबाब बढाए । तीनैजना राजीनामाको विपक्षमा उभिदै आएका थिए ।

बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली र उनका विश्वासपात्रहरुसँग पटक पटक सम्पर्क गरिरहेका थिए । उनैले नेपाललाई पटक पटक सम्झाएर ओलीसँग वार्ताको वातावरण बनाएका थिए ।

२९ वैशाखमा ओलीसँग फोनवार्ता गर्न नमानेका नेपाल ३० वैशाखको विहान फोनवार्ता गर्न तयार भए । त्यसपछि क्याप्टेन रामेश्वर थापाको चपली हाइटमा वार्ता तय भयो ।
नेपाल वार्तामा जाने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झस्किइसकेका थिए । त्यसमाथि महन्थ ठाकुरले देउवालाई साथ दिन नसक्ने भने । उनी पक्षधर सांसदहरु महेश बस्नेतको व्यवस्थापनमा डोलेश्वर पुगे । नेपाल पक्ष पछि हट्नु र ठाकुर पक्षधर डोलेश्वर पुग्नुले नयाँ घटना विकास भयो ।

आफ्ना पक्षधरले राजीनामा दिंदा पनि जसपाले बहुमत पुर्याउने गरी सदस्य संख्या पुर्याउन नसक्ने देखेपछि नेपाल पनि पछि हटे । त्यसमाथि विहानै ओलीले स्थायी कमिटी बैठक डाकेर उनीसहित चार नेतामाथिको कारबाही फुकुवा गरिसकेका थिए ।

ओली र नेपाललाई मिलाउन शक्तिकेन्द्रहरुको भुमिका पनि देखियो । एउटा शक्ति ओलीलाई अझै सत्तामा टिकाउन चाहन्थ्यो । जसका कारण महन्थ ठाकुर गठबन्धनका लागि तयार भएनन् । यसकारण पनि माधव नेपाल ब्याक भए ।



प्रतिक्रिया दिनुहोस्