Logo

कास्कीमा निषेधाज्ञा एक साता थप



कास्की, ३१ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । पहिलोपटक वैशाख १५ देखि २१ गतेसम्म लगाइएको निषेधाज्ञा दोस्रोपटक थप गरी वैशाख ३१ गते राति १२ बजेसम्म कायम गरिएकामा पुनः जेठ १ गते बिहान ५ देखि जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । प्रशासनले यस अवधिमा बिहानी तथा साँझको हिँडाइसमेत नगर्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा, सम्मेलन, भेला गोष्ठी, शैक्षिक संस्था, धार्मिकस्थल, सिनेमा हल, पार्टीप्यालेस, रेष्टेरेन्टलगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्