Logo

ओली-ठाकुर भेटवार्ताः जसपाको माग सम्बोधन र सरकारमा सहभागिताबारे छलफल



काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । दुई नेताबीचको भेट सरकारमा सहभागिता र जसपाले उठाएको मुद्दाको सम्बोधनको विषयमा केन्द्रित भएको बुझिएको छ ।

भेटमा ओलीले ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । ठाकुरले भने तत्काल सहभागी नहुने र केही समय पर्खने जवाफ दिएको बुझिएको छ । उनले आफूहरुको मागको सम्बोधनमा जोड दिएको बुझिएको छ । यद्यपि, महतोले तत्काल मागको सम्बोधन भएमा पार्टीमा छलफल गरी छिट्ट निर्णय लिनसक्ने जवाफ दिएका छन् । सम्भवतः केही मुद्दाको सम्बोधनको सुनिश्चितता गरिए जसपा सरकारमा सहभागी हुनसक्छ ।

विश्वस्त स्रोतका अनुसार पहिलो क्याबिनेटबाट जसपाले उठाएको कतिपय मागहरुको सम्बोधन गरेलगत्तै सरकारमा सहभागी हुनेगरी लगभग सहमति बनेको छ । तर, जसपाका नेताहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी सरकारमा जान आतुर देखिएका छन् ।

ठाकुर समूहले तटस्थ बस्दा ओलीविरोधी गठबन्धन बहुमत पुर्याउन असफल भएको थियो । यसले ओलीलाई फाइदा पुगेको छ । उनी प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्न सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्